७०औं प्रहरी दिवस–२०८२ को अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्रहरीका अधिकारी तथा जवानहरू, नागरिक समाजका प्रतिनिधि र स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा पुगेको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रमका क्रममा एक जना महिला सहित ६७ जनाले रक्तदान गरेका थिए।
रक्तदान गर्नेहरूमा रामसुन्दरी यादव, धर्मेन्द्र प्रसाद, सम्बर गुरुङ, मनोर रसाइली, केदार तिमल्सिना, मोहम्मद जलीम अख्तर, गुलशन कुमार यादव, अफरोज आलम, ऋषिराम भट्टराई, लालबहादुर साह, मोतीलाल पासवान, लक्ष्मण कुमार यादव, सुदन पुरी, रामचन्द्र यादव, मुकेश रायलगायतका व्यक्ति सहभागी थिए।
कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी सुदीप राज पाठक तथा डिएसपी किशोर लम्साल विशेष उपस्थित रहेका थिए। एसपी पाठकले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रहरी र नागरिकबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
प्रहरी दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रमले प्रहरी संगठनको मानवसेवा, अनुशासन र उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।