नेपालीहरूको महान् पर्व तिहार ९दीपावली० र छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र उल्लासमय वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा मापदण्ड लागू गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आइतवार प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सूचना जारी गर्दै सर्वसाधारणलाई चाडपर्वका समयमा निर्धारित नियमको कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
प्रशासनले पटका ओसारपसार, बिक्री वितरण र पड्काउन पूर्ण रूपमा निषेध गरेको छ। पटकाको ठूलो आवाजले स्वास्थ्यमा पर्ने असर, समाजमा त्रास सिर्जना हुने र आगलागीको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।
राति हुने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइने जनाइएको छ। तोकिएको समयपछिका सबै कार्यक्रमहरू तत्काल बन्द गरिने प्रशासनले स्पष्ट पारेको छ।
त्यसैगरी, चाडपर्वका समयमा जुवा–तास खेल नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ। यस्ता गतिविधिले आर्थिक क्षति र सामाजिक विवाद निम्त्याउने भएकाले निगरानी कडा पारिने चेतावनी दिइएको छ। साथै, मादक पदार्थ सेवन नगर्न तथा माछामासु, चिल्लो र गुलियो पदार्थ सन्तुलित रूपमा सेवन गर्न स्वास्थ्य सुरक्षाका दृष्टिले सुझाव दिइएको छ।
छठ पर्वका पूजापाठ नदी, ताल र तलाउमा हुने भए पनि खुला स्थानमा आयोजना गरिने मेला वा जमघट राति १० बजेसम्म सीमित गर्नुपर्ने प्रशासनले जनाएको छ। त्यस्तै, अत्यावश्यक सेवाबाहेक सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइने सूचनामा उल्लेख गरिएको छ।
सीडीओ सुवेदीले जारी सूचनामा नियम उल्लङ्घन गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। साथै, शान्ति–सुरक्षासम्बन्धी समस्या परेमा नजिकको सुरक्षानिकाय वा नेपाल प्रहरी कन्ट्रोल नम्बर १०० र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।