जापानको राजनीतिक इतिहासमा नयाँ अध्याय जोडिँदै सानाए तकाइची देशकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । जापानको दुवै सदनमा भएको मतदानमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री पदमा निर्वाचित भएकी हुन् ।
पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक शिष्य रहेकी तकाइचीले मंगलबार ४६५ सदस्यीय संसद्को तल्लो सदनमा २३७ मत पाउँदै प्रधानमन्त्रीमा निर्वाचित भइन् ।
तेस्रो प्रयासमा प्रधानमन्त्री बनेकी ६४ वर्षीया तकाइची दक्षिणपन्थी नेतृ हुन् र जापानमा ‘आयरन लेडी’ का रूपमा परिचित छिन् । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की वरिष्ठ नेतृ उनी मन्त्री, टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर समेत रहेकी थिइन् ।
उनको विजय एलडीपी र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी (जेआईपी)बीच अन्तिम समयमा सोमबार भएको गठबन्धन सम्झौतापछि सम्भव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तर दुई दलको गठबन्धन बन्दा पनि संसदमा दुई सिटले बहुमत नपुग्दा राजनीतिक अस्थिरताको जोखिम अझै कायम रहेको विश्लेषकहरूको भनाइ छ ।
तकाइचीले निवर्तमान प्रधानमन्त्री शिगेरु इशिबालाई प्रतिस्थापन गर्दै पद सम्हालेकी हुन् । जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितताको अन्त्यसँगै नयाँ सरकार गठन भएको हो ।
यो घटना जापानमा महिलाको नेतृत्व उदयको ऐतिहासिक मोडका रूपमा हेरिएको छ । एलडीपीले पछिल्ला पाँच वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तकाइचीको प्रशंसा गर्दै भनेका छन्, “उनी धेरै सम्मानित र बुद्धिमान नेतृ हुन्।”
प्रधानमन्त्री बनेपछि तकाइचीले सुस्त गतिमा चलिरहेको अर्थतन्त्रलाई पुनर्जीवन दिने, अमेरिका–जापान सम्बन्ध सुदृढ गर्ने र सत्तारूढ दलभित्र एकता कायम राख्ने चुनौती सामना गर्नुपर्नेछ ।
उनले यसै साता अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता, नीति सम्बोधन र क्षेत्रीय शिखर सम्मेलनहरूमा सहभागिता जनाउने कार्यतालिका तय गरेकी छन् ।