मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्व पछि विश्वासको मत लिने तयारी लिने जानकारी दिएका छन्। उनी गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानअनुसार नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
चाडपर्वका कारण विश्वासको मत छठपछि लिने तयारी भइरहेको मुख्यमन्त्री सोनलले बताएका छन्।
सोनल जनता समाजवादी पार्टी जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल, र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
प्रदेश सभामा यी पाँच दलको संयुक्त सांसद संख्या ५७ रहेको छ। जसपामा १९, जनमत पार्टीमा १३, माओवादी केन्द्रमा ९, लोसपामा ९ र एकीकृत समाजवादीमा ७ जना सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ मत आवश्यक पर्छ।
तर, जनमत पार्टीका दुई सदस्य—निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह—जनमत पार्टीबाट फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसकेका छन्। तर निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले होल्ड गरिदिएकाले विभाजनको आधिकारिता अदालतबाट निर्णय नआउँदासम्म उनीहरूलाई जनमत पार्टीकै संसदीय दलको ह्वीप लाग्नेछ।
यता जसपा नेपालका सांसद सरोज सिंह कुशवाहा निलम्बित रहेका कारण विश्वासको मतमा भोट हाल्न सक्दैनन्। यसरी जनमत पार्टीका दुई सांसदले मत नदिएमा समर्थन गर्ने दलबाट मत संख्या ५४ मा झर्न सक्ने अवस्था छ।
मुख्यमन्त्री सोनल भने विश्वासको मत पक्का प्राप्त हुनेमा ढुक्क छन्। “विश्वासको मतका लागि कुनै समस्या हुँदैन,” उनले भने।