छठ पर्वलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यसहित मधेश प्रदेश प्रहरीले व्यापक सुरक्षा तयारी सुरु गरेको छ। यस अन्तर्गत ‘अप्रेसन आस्था’ नामक विशेष अभियान प्रदेशभर लागू गरिएको छ।
मधेश प्रदेश प्रहरीका नायव महानिरीक्षक ९डिआइजी० गोविन्द थपलियाका अनुसार, छठको समयमा भीडभाड बढ्ने, नदी–घाट क्षेत्र संवेदनशील बन्ने तथा असामाजिक गतिविधि बढ्ने सम्भावनालाई ध्यानमा राख्दै आठै जिल्लामा झण्डै सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै डिआइजी थपलियाले मादक पदार्थ सेवन, सवारी साधन दुरुपयोग, भीडमा अव्यवस्था, झैझगडा र सार्वजनिक स्थलमा हुने हुलदङ्गालाई रोकथाम गर्ने मुख्य उद्देश्य अभियानले बोकेको बताए।
घाट, पोखरी, बजार क्षेत्र र मुख्य सडकहरूमा ट्राफिक प्रहरी, महिला प्रहरीसहित मोबाइल गस्ती तथा सादा पोसाकका सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्। भीड नियन्त्रणका लागि अस्थायी सुरक्षा चौकी स्थापना र सीसी क्यामेरामार्फत निगरानी पनि बढाइएको प्रहरीले जनाएको छ।
उहाँका अनुसार, छठ आस्था र विश्वासको पर्व भएकाले नागरिकले निःशङ्क रूपमा पूजा–अर्चनामा सहभागी हुन सकून् भन्नेमा प्रहरी प्रतिबद्ध छ। “जनताको सुरक्षामा कुनै सम्झौता हुँदैन,” थपलियाले भने।
प्रदेशभर शान्ति, सुरक्षाको वातावरण कायम गर्दै छठ पर्व सफलतापूर्वक सम्पन्न गराउन ‘अप्रेसन आस्था’ निर्णायक ठहरिने अपेक्षा गरिएको छ।