नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले लुम्बिनी नामक न्यारोबडी विमानमा प्रयोग गरेको भाडाको इन्जिनको रकम लामो समयसम्म नतिरेकाले इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड ९आईएआई० ले सम्झौता रद्द गरेको छ। कम्पनीले बुधबार निगमलाई पठाएको इमेलमार्फत सम्झौता खारेज भएको जानकारी गराएको हो।
करीब ४१ करोड ७१ लाख रुपैयाँ बराबरको इन्जिन भाडा नबुझाएपछि आईएआईले विमान इन्जिन लिज सम्झौता तत्काल प्रभावबाट समाप्त गरिएको घोषणा गरेको छ। सम्झौता रद्द भएपछि निगमको लुम्बिनी विमान अब उडाउन मिल्ने छैन, जसका कारण निगमले दैनिक करोडौं रुपैयाँ बराबरको कारोबार गुमाउने स्थिति सिर्जना भएको छ।
निगमले २०८० माघदेखि लुम्बिनी नामक न्यारोबडी विमानमा आईएआईको भाडाको इन्जिन राखेर उडान गर्दै आएको थियो। प्रारम्भिक सम्झौता तीन महिनाका लागि मात्र गरिएको थियो, तर इन्जिन २० महिनाभन्दा बढी समय प्रयोगमा रह्यो। यसबीचमा पर्यटन मन्त्रालयमा तीन मन्त्री — सुदन किराँती, हितबहादुर तामाङ र बद्री पाण्डे — तथा तीन वटा सरकार परिवर्तन भए पनि निगमले भुक्तानीको टुंगो लगाउन सकेन।
सम्झौताअनुसार उक्त इन्जिनको दैनिक भाडा २४ सय अमेरिकी डलर ९झन्डै ३ लाख ३८ हजार रुपैयाँ० थियो। साथै, विमान उडानका प्रत्येक घण्टा र साइकलमा थप २४० डलर शुल्क लाग्ने व्यवस्था थियो। निगमले भुक्तानी नगर्दा आईएआईले पटक–पटक ताकेता गरेको भए पनि रकम नआएपछि अन्ततः सम्झौता रद्द गर्ने निर्णय गरेको हो।
आईएआईका निर्देशक शिमोन प्रितासले नेपाल एयरलाइन्सका कन्टिन्युइङ एयरवर्थिनेस म्यानेजर इन्जिनियर महेशकुमार मरितालाई पठाएको इमेलमा भनेका छन्— “नेपाल एयरलाइन्सले लिज सम्झौताका सर्तहरू गम्भीर रूपमा उल्लङ्घन गरेको छ। कम्पनीले तत्काल प्रभावले सम्झौता समाप्त गर्ने निर्णय लिएको छ।”
उक्त इमेलमा निगमलाई इन्जिनको प्रयोग तुरुन्त बन्द गर्न र सुरक्षित अवस्थामा राखी आईएआईको वर्कशपमा पठाउन निर्देशन दिइएको छ। सो प्रतिलिपि नेपाल नागरिक उड्डयन प्राधिकरण ९सीएएएन० लगायत निगमका निर्देशकहरूलाई समेत पठाइएको छ।
निगमले इजरायलमै मर्मतका लागि पठाएको आफ्नै इन्जिन करिब आठ महिनाअघि तयार भए पनि अझै फिर्ता ल्याउन सकेको छैन। यसले गर्दा निगमलाई लुम्बिनी विमान सञ्चालनमा थप समस्या आएको छ। अहिले इजरायली कम्पनीको लिज इन्जिन प्रयोग रोकिएपछि सो विमान अनिश्चितकालका लागि ग्राउन्डेड हुने भएको छ।
२०८० भदौमा गरिएको सम्झौताअनुसार भाडाको इन्जिन आईएआईकै स्वामित्वमा रहेको थियो। नेपाल एयरलाइन्सले केवल प्रयोग अधिकार पाएको भए पनि इजरायली कम्पनीले भुक्तानी नहुँदा सम्झौता स्वतः खारेज भएको जनाएको छ। निगमले तत्काल भुक्तानी नबुझाए वा नयाँ इन्जिनको व्यवस्था नगरेमा लुम्बिनी विमान लामो समयसम्म उडाउन नसकिने स्थिति आएको छ।
विमान स्थिर रहँदा निगमले दैनिक करोडौं रुपैयाँ बराबरको राजस्व गुमाउने अनुमान छ। पर्यटन सीजनको समयमै विमान ग्राउन्डेड भएपछि निगमको उडान तालिका र आय दुवैमा ठूलो असर पर्ने भएको छ।
विगत केही वर्षयता नेपाल वायुसेवा निगम निरन्तर प्राविधिक, व्यवस्थापकीय र आर्थिक संकटमा परेको छ। भाडाको इन्जिनको रकम नतिरेर भएको यो पछिल्लो विवादले निगमको विश्वसनीयतामा पुनः प्रश्न उठाएको छ। अहिले निगममाथि नयाँ इन्जिनको व्यवस्था गर्ने वा भुक्तानी पूरा गरेर सम्झौता पुनःस्थापना गर्ने चुनौती थपिएको छ।