जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्यामा संलग्न अभियुक्त तात्सुया यामागामीले अदालतमा अपराध स्वीकार गरेका छन्। सोमबार सुरु भएको मुद्दाको पहिलो सुनुवाइमा उनले खुलेरै भनेका छन् — “मैले नै सिन्जो आबेको हत्या गरेको हुँ।” यो बयानपछि दुई वर्षअघि भएको घटनाले फेरि जापानी राजनीति र समाजमा चर्चा ल्याएको छ।
४५ वर्षका यामागामीले टोकियोस्थित अदालतमा उपस्थित भएर आफूले गरेको सबै काम सही भएको बताएका छन्। स्थानीय मिडियाका अनुसार उनले घटनाबारे कुनै पछुतो नदेखाई “सबै कुरा सत्य हो” भनेर बयान दिएका थिए। २०२२ जुलाई ८ मा नारा शहरमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को चुनावी अभियानका क्रममा आबेमाथि गोली चलाइएको थियो। यामागामीले घरमै बनाएको हतियारबाट दुई पटक गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका आबेलाई अस्पताल पुर्याइए पनि त्यही दिन उनको मृत्यु भएको थियो।
अनुसन्धानका क्रममा यामागामीले आबेमाथि गोली चलाउने प्रमुख कारण ८८‘युनिफिकेशन चर्च’ (Unification Church) ०८८सँगको आबेको निकटता रहेको बताएका थिए। उनका अनुसार, चर्चले आफ्नी आमालाई अत्यधिक आर्थिक क्षति पुर्याएको थियो। उनकी आमाले उक्त चर्चलाई १० करोड येन ९करिब ९ करोड नेपाली रुपैयाँ० दान दिएकी थिइन्, जसका कारण परिवार आर्थिक संकटमा परेको थियो। त्यसपछि यामागामीमा चर्चप्रति गहिरो असन्तोष बढेको थियो। उनले आरोप लगाए अनुसार आबे सो धर्मसंस्थासँग घनिष्ठ सम्बन्ध राख्थे।
यो घटनापछि जापानभर चर्च र राजनीतिबीचको सम्बन्धबारे ठूलो बहस सुरु भयो। सार्वजनिक दबाबपछि टोकियोको अदालतले पछिल्लो वर्ष युनिफिकेशन चर्चलाई भङ्ग गर्ने आदेश समेत दिएको थियो।सिन्जो आबे जापानका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेता हुन्। उनी आबेनेमिक्स (Abenomics) नामको आर्थिक सुधार कार्यक्रमका कारण विश्वभर चर्चित थिए। उक्त नीति मार्फत उनले मुद्रास्फीतिबाट थिचिएको जापानी अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए। आबे जापानको विदेश नीतिमा पनि आक्रामक दृष्टिकोणका लागि चिनिन्थे। भारत, अमेरिका र अन्य लोकतान्त्रिक मुलुकहरूसँगको सम्बन्ध सुदृढ गर्नमा उनको भूमिका उल्लेखनीय रहेको थियो।
यामागामीमाथि आबेको हत्या बाहेक हत्या र बन्दुक नियन्त्रण कानुन उल्लङ्घनको पनि मुद्दा चलाइएको छ। उनको मुद्दाको फैसला २०२६ जनवरीसम्म नआउने अनुमान गरिएको छ। हाल उनी हिरासतमा छन् र अदालतमा मानसिक स्वास्थ्य परीक्षण समेत भइरहेको छ। सिन्जो आबेको हत्या केवल एक राजनीतिक नेतामाथिको आक्रमण मात्र नभई जापानी समाजमा धर्म, राजनीति र असन्तुष्टिको त्रिकोणीय टकरावको प्रतीक बनेको छ। अभियुक्तले अपराध स्वीकार गरे पनि यो घटनाले जापानमा सुरक्षा प्रणाली, राजनीतिक नैतिकता र धार्मिक प्रभावबारे दीर्घकालीन प्रश्न उठाएको छ।