बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक सामुद्रिक चक्रवात अब क्रमशः उत्तर–पश्चिमतिर सर्दै नेपालतर्फ आइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिनभित्र यसको प्रत्यक्ष प्रभाव नेपालमा देखिने भन्दै जनस्तरमा सतर्कता अपनाउन आग्रह गरेको छ। हाल भारतको विशाखापटनम नजिक केन्द्रित यो चक्रवात क्रमशः भारतको ओडिशा, बिहार हुँदै नेपालतर्फ प्रवेश गर्ने क्रममा रहेको विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन्।
पराजुलीका अनुसार चक्रवातको प्रभाव कात्तिक १३ गते (बिहीबार) दिउँसोदेखि १५ गते ९शनिबार० दिउँसोसम्म रहने अनुमान गरिएको छ। समुद्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर आएको यो तुफानले कोशी र मधेस प्रदेशमा भारी वर्षा गराउने सम्भावना छ। “चक्रवातले बागमती प्रदेशका केही भाग र कोशी प्रदेशका हिमाली क्षेत्रहरूमा समेत प्रभाव पार्न सक्छ,” पराजुलीले भने, “उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ, जसले पर्वतारोहण र ग्रामीण जीवनमा असर पुर्याउन सक्छ।”
बाढी पूर्वानुमान शाखाले ठूला नदीहरूको जल सतह उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिएको छ। पराजुलीका अनुसार बागमती, कोशी र कमला नदीमा ठूलो बाढी आउने जोखिम नरहे पनि जलसतह सतर्कता तहसम्म पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा बस्ने नागरिकलाई सचेत रहन अनुरोध गरिएको छ। तर, मधेस र कोशीका चुरे तथा पहाडी क्षेत्र हुँदै बग्ने साना खोलानालामा आकस्मिक बाढी आउने जोखिम उच्च रहेको भन्दै कात्तिक १३ गते रातिदेखि १५ गतेसम्म विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार पछिल्ला केही दिनयता देशभर बदली र हल्का वर्षा देखिनुको कारण पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणाली हो। “मंगलबार र बुधबार केही सुधार भए पनि बिहीबारदेखि ‘मोन्था’ चक्रवात सक्रिय हुने भएकाले देशको मौसम पुनः प्रभावित हुनेछ,” पोखरेलले भने। विभागले नदी तटीय बस्तीहरू, डुबान–जोखिम क्षेत्र र पहाडी बाटोहरूमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, कृषकहरूलाई बालीनालीको सुरक्षा, बाढीग्रस्त क्षेत्रमा बसोबास गर्ने समुदायलाई सम्भावित जोखिमबारे सचेत रहन अनुरोध गरिएको छ।
बंगालको खाडीबाट सर्ने ‘मोन्था’ चक्रवातले नेपालमा हिउँदअघि नै अप्रत्याशित मौसमी जोखिम ल्याउने संकेत देखिएको छ। विभागका विज्ञहरूका अनुसार आगामी ४८ घण्टा कोशी र मधेस प्रदेशका लागि अत्यन्त संवेदनशील समय हुनेछ।