काठमाडौं । बङ्गालको खाडीबाट विकसित भई भारत हुँदै नेपाल प्रवेश गरेको चक्रवात ‘मोन्था’ का कारण देशका अधिकांश भू–भागमा वर्षासहितको बदली मौसम कायम भएको छ। चक्रवातको तीव्र प्रभाव विशेष गरी मधेश र कोशी प्रदेशमा देखिएको छ भने अन्य प्रदेशमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार, पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मोरङको सुन्दर हरैंचा क्षेत्रमा रेकर्ड भएको हो, जहाँ २१० मिलिमिटर वर्षा मापन गरिएको छ। यससँगै सप्तरीको बरमजियामा पनि १४३ मिलिमिटर वर्षा भएको छ। यस्तो वर्षा सामान्य नभई “अति भारी वर्षा” को श्रेणीमा पर्छ।
“दुई सय मिलिमिटरभन्दा बढी वर्षा भयो भने त्यसलाई अति धेरै भारी वर्षा मानिन्छ। अहिले मोन्थाको असरले पूर्वी नेपालका धेरै स्थानहरूमा यो स्तरको वर्षा भइरहेको छ,” कायस्थले भने।
उनका अनुसार, झापामा ९३।६ मिलिमिटर र उदयपुरमा ९७।६ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै ललितपुरमा ७२ मिलिमिटर र काठमाडौंमा ४० मिलिमिटर वर्षा भएको छ। देशभरका दुई दर्जनभन्दा बढी वर्षा मापन केन्द्रहरूमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ।
विभागका अनुसार, मोन्था चक्रवात हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको रूपमा क्रियाशील छ। यस प्रणालीको प्रभाव आज साँझसम्म रहने र त्यसपछि क्रमशः सुधार आउने अनुमान गरिएको छ। यद्यपि, चक्रवातसँगै पश्चिमी वायु र अरब सागरमा विकसित अर्को न्यूनचापीय प्रणालीको आंशिक प्रभावले पनि देशभर मौसम अस्थिर बनाइरहेको छ।
विभागले दिएको पछिल्लो विवरणअनुसार, अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, साथै लुम्बिनी प्रदेशका केही भागहरूमा, हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कतिपय स्थानमा भने लगातार वर्षाका कारण नदी–नाला बढ्ने, पहिरो तथा कटानको जोखिम समेत बढेको चेतावनी दिइएको छ।
विभागले नदी किनारका बस्तीहरू, पहाडी भू–भाग र कमजोर भौगोलिक क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। वर्षा रोकिए पनि जमिन भिजेकै कारण पहिरो, ढिस्को खस्ने र साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने बताइएको छ।
मौसमविद्हरूका अनुसार, मोन्था चक्रवातको प्रभाव शनिबार बिहानसम्म क्रमशः कमजोर हुँदै जानेछ र त्यसपछि देशका अधिकांश भागमा मौसम खुल्ने सम्भावना छ।