काठमाडौं, १७ कात्तिक। अफगानिस्तानको उत्तरी सहर मजार–ए–शरीफ नजिक सोमबार बिहान ६।३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण कम्तीमा सात जनाको मृत्यु भएको र करिब १५० जना घाइते भएका छन्।
समाचार संस्था रोयटर्स का अनुसार अमेरिकी भूवैज्ञानिक सर्वेक्षण ९ग्क्न्क्० ले मजार–ए–शरीफ नजिक करिब २८ किलोमिटर ९१७।४ माइल० गहिराइमा भूकम्प गएको जनाएको छ। करिब पाँच लाखभन्दा बढी जनसंख्या रहेको उक्त सहरमा भूकम्पपछि स्थानीय बासिन्दा खुला स्थानतिर निस्किएका थिए।
समनगान प्रान्तका स्वास्थ्य विभागका प्रवक्ता समीम जोयान्डाका अनुसार आज बिहानसम्म सात जनाको मृत्यु र १५० जना घाइते भएको पुष्टि भएको छ। घाइते सबैलाई नजिकका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि पुर्याइएको बताइएको छ।
यूएसजीएसको पेजर प्रणालीले यस भूकम्पका लागि ‘अरेन्ज अलर्ट’ जारी गरेको छ, जसले धेरै मानिस हताहत हुने र विस्तृत क्षति हुने सम्भावना रहेको संकेत गरेको हो।
बाल्ख प्रान्तका प्रवक्ता हाजी जाइदका अनुसार मजार–ए–शरीफको प्रसिद्ध ब्लू मस्जिदको केही भाग समेत भत्किएको छ। अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन निकायले क्षति र हताहतबारे विस्तृत विवरण पछि सार्वजनिक गर्ने जनाएको छ।
सोसल मिडिया प्लेटफर्म ‘एक्स’ ९पहिलेको ट्विटर० मा उद्धार कार्यका भिडिओहरू र भवनका भग्नावशेषका तस्वीरहरू साझा भइरहेका छन्। केही भिडिओहरूमा उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेकाहरूलाई निकाल्ने प्रयास गरिरहेको देखिन्छ।
गत अगस्टमा गएको अर्को ठूलो भूकम्पमा समेत अफगानिस्तानमा हजारौं मानिसले ज्यान गुमाएका थिए। अफगानिस्तान दुई ठूला सक्रिय भूकम्पीय फॉल्टलाइनमाथि अवस्थित भएकाले यहाँ ठूलो भूकम्पको जोखिम सधैं रहने बताइन्छ।