काठमाडौँ । भारतको राजस्थान राज्यस्थित जोधपुर जिल्लाको फलोदी क्षेत्रमा आइतबार साँझ भएको सडक दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका केही व्यक्तिहरूको अवस्था गम्भीर रहेको र तिनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुर्घटना मातोडा पुलिस थाना क्षेत्र अन्तर्गत भारत माला हाइवेमा भएको हो। सडक किनारमा रोकिएको एउटा ट्रेलरमा टेम्पो ट्राभलर ठोक्किँदा दुर्घटना भएको बताइिएको छ। टेम्पो ट्राभलरमा सवार सबै यात्रु जोधपुरको सूरसागर क्षेत्रका बासिन्दा रहेको र उनीहरू कोलायतस्थित आश्रममा दर्शन गरी फर्कने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनापछि स्थानीय प्रशासन, प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरी अस्पताल पुर्याएको थियो ।
राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेखेका छन्, “फलोदीको मातोडा क्षेत्रमा भएको सडक दुर्घटनामा भएको जनधनको क्षति अत्यन्त दुःखद र हृदयविदारक छ। मेरो समवेदना शोकाकुल परिवारहरूसँग छ।”
त्यसैगरी, राजस्थानका पूर्वमुख्यमन्त्री अशोक गहलोतले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माहरूको चीरशान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरेका छन्।
स्थानीय प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार ट्रेलर अन्धकारमा सडक किनारमा रोकिँदा टेम्पो ट्राभलरले ठम्याउन नसकी ठोक्किएको हुनसक्ने जनाइएको छ।