काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा देशमा लोडसेडिङ अन्त्य गरी प्रशंसा कमाएका कुलमान घिसिङ हाल नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्। हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालिरहेका घिसिङले आगामी २१ फागुनमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियान अगाडि बढाएका हुन्।
घिसिङ ‘जेन–जी आन्दोलन’को बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका थिए। पछिल्लो समय जेन–जी आन्दोलनबाट उत्पन्न राजनीतिक तरलता र वैकल्पिक शक्तिको खोजीबीच उनी स्वतन्त्र रुपमा नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेका छन्।
उनका निकट स्रोतका अनुसार, ‘उज्यालो नेपाल पार्टी’ नाममा निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन असोज महिनामै दर्ता भइसकेको छ। सम्भवतः उक्त दलले ‘बल्ब’ चुनाव चिह्न प्रयोग गर्ने तयारी गरेको बताइन्छ। घिसिङ निकट एक नेताले भने, “बल्ब प्रतीकले देशमा उज्यालो ल्याउने सन्देश दिन्छ, जसले दलको ब्रान्डिङमा सहयोग पुर्याउनेछ।”
तर, दलको नेतृत्वमा स्वयं घिसिङ अगाडि आउने कि सदस्यको भूमिकामा मात्रै सीमित रहने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन। स्रोतका अनुसार, उनी अहिले मन्त्रालयको जिम्मेवारीमा रहेको हुँदा मनोनयन दर्ता अघि जिम्मेवारी छाड्ने कि नछाड्ने भन्नेबारे उच्च तहमा छलफल भइरहेको छ।
घिसिङले हालसम्म विवेकशील साझा पार्टी पृष्ठभूमिका केही नेताहरू र रक्षा बम नेतृत्वको नेपाल जेन–जी फ्रन्टसँग पनि निरन्तर संवाद गरिरहेका थिए। तर, पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व संरचनामा सहमति नजुटेपछि उनी एकल प्रयासमा दल खोल्ने तयारीमा पुगेका हुन्।
जेन–जी फ्रन्टका नेताहरूले भने, सबै वैकल्पिक शक्ति एकै ठाउँमा आउने हो भने मात्रै नयाँ दल गठन गर्नुपर्ने धारणा राखेका छन्। उनीहरूको भनाइमा, “एक व्यक्ति–केन्द्रित दल दीर्घकालीन रूपमा स्थायी हुन सक्दैन।” विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेले पनि “जेन–जी आन्दोलनको म्यान्डेटअनुसार सहमति र सहकार्यबाट नेतृत्व तय हुनुपर्ने” बताएका छन्।
रक्षा बमको नेतृत्वमा गठित नेपाल जेन–जी फ्रन्टभित्र पनि राजनीतिक दलको औपचारिक रूपान्तरणबारे छलफल तीव्र भएको छ। फ्रन्टका संगठन प्रमुख युजन राजभण्डारीका अनुसार, “२३ भदौको आन्दोलनलाई संस्थागत गर्दै त्यसपछि राजनीतिक कोर्समा अगाडि बढ्ने तयारी भइरहेको” छ। फ्रन्टले हाल प्रदेश र जिल्ला स्तरमा नेतृत्व छनोटको कार्यसमेत प्रारम्भ गरेको छ।
विवेकशील साझा र जेन–जी फ्रन्टसँगको सहकार्य टुंगिन नसकेपछि कुलमान घिसिङले नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीसँग पनि प्रारम्भिक संवाद थालेका छन्। साथै, उनका निकटवर्ती सर्कलमा सागर ढकाललगायतका स्वतन्त्र अभियन्ता पनि रहेका बताइन्छ।
रास्वपा परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले भने, “जेन–जी आन्दोलनको मर्म आत्मसात गर्ने राजनीतिक दल बन्नु अपरिहार्य छ,” भन्दै त्यसको नेतृत्व स्वयं जेन–जी पुस्ताले लिनुपर्ने धारणा व्यक्त गरेकी छन्। उनका अनुसार, “यदि जेन–जीहरू चुनावमा गएनन् भने पुराना दलहरूले आन्दोलनलाई अपराधीकरण गर्न सक्छन्।”
सुमना श्रेष्ठले गतिशील लोकतान्त्रिक पार्टी र कुलमान समूह दुवैसँग संवाद गरेकी थिइन्। तर उनी पनि सामूहिक नेतृत्व र साझा मञ्चको पक्षमा देखिएकी छन्।
रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) सँग पनि कुलमानले एक चरणमा गहिरो संवाद गरेका थिए। उनले रवि लामिछाने अभिभावकीय भूमिकामा रहने हो भने आफू नेतृत्व गर्न तयार रहेको सन्देश पठाएका थिए। तर, पार्टीभित्र सहमति नजुटेपछि त्यो प्रक्रिया टुंगिन पाएन। त्यसपछि उनले स्वतन्त्ररूपमा नयाँ दल खोल्ने निर्णय पक्का गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार, “रास्वपाको प्रस्तावपछि केही समय कुलमान रोकिएका थिए, तर अब ढिलाइ गर्दा अवसर गुम्ने देखिएपछि अघि बढ्ने निष्कर्षमा पुगेका छन्।”