काठमाडौं । निष्क्रिय कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीमा भएको वृद्धिले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अधिकांश बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् ।
जुन गत आर्थिक वर्षको २०८१र८२ को सोही अवधिको तुलनामा १८.७८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकहरुले १६ अर्ब १८ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका थिए ।
बैंकहरुको सम्भावित कर्जा नोक्सानी व्यवस्थाको गत वर्षको प्रथम त्रैमासको तुलनामा करिब दोब्बरले बढेको छ । जसले गर्दा अधिकांश बैंकको नाफामा गिरावट आएको हो । प्रथम त्रैमासमा नै बैंकहरुले सम्भावित कर्जा नोक्सानीको लागि २० अर्ब १४ करोड रुपैयाँ छुट्याएका छन् ।
जबकी गत आर्थिक वर्षको यही अवधिमा १० अर्ब ४४ करोड ८ लाख रुपैयाँ मात्रै सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएका थिए । यसबीचमा निष्क्रिय कर्जा र बक्यौता ब्याज पनि बढेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।
सञ्चालनमा रहेको २० मध्ये ५ वटा बैंकको मात्रै नाफा बढ्दा १५ बैंकको नाफामा गिरावट भएको हो । सिटिजन्स बैंकले सञ्चालन नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार देखिँदा एभरेष्ट, नबिल, प्राइम, एनएमबि लगायत केही बैंकको वित्तीय विवरण सन्तुलिन नै देखिन्छ ।
निष्क्रिय कर्जा बढेको र ब्याज समेत उठाउन नसक्दा सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, हिमालयन, कुमारी, एनआईसी एशिया लगायतका बैंकहरुमा भने दबाब बढ्दै गएको छ ।
प्रथम त्रैमासमा ग्लोबल आईएमई बैंकले सर्वाधिक १ अर्ब ८५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशतले बढी हो । खुद ब्याज आम्दानी बढेको र कर्जा नोक्सानी व्यवस्था गत वर्षको तुलनामा केही घटेको कारण बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ ।
यस्तै नबिल बैंकको भने नाफा १४.५७ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ७० लाखमा झरेको छ । बैंकको कर्जा नोक्सानी व्यवस्था केही बढेको र आम्दानीमा पनि कमि आउँदा नाफा घटेको हो ।
खुद ब्याज आम्दानी केही बढेपनि प्रोभिजन पनि बढ्दा प्राइम कमर्सियल बैंकको नाफा २।२० प्रतिशतले घटेर १ अर्ब २८ करोड ८४ लाख रुपैयाँमा झरेको छ । त्यस्तै एभरेष्ट बैंकको नाफा ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा कर्जा नोक्सानी व्यवस्था बढेपनि बैंकको खुद ब्याज आम्दानीसँगै सबै आम्दानीमा वृद्धि हुँदा नाफा सामान्य बढेको हो ।
कुमारी बैंकको कर्जा नोक्सानी व्यवस्था सतप्रतिशतले बढेर १ अर्ब २६ करोड ४१ लाख पुग्दा नाफा २.०१ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।प्रथम त्रैमासमा सबैभन्दा धेरै कर्जा नोक्सानी व्यवस्था नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४ लाख रुपैयाँ गरेको छ भने नाफा ४ करोड ५१ लाख रुपैयाँ मात्रै छ ।त्यस्तै लक्ष्मी सनराइज बैंकले १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा ३३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । सिटिजन्स बैंकले १ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
कृषि विकास बैंकले १ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्दा ५७ लाख नाफा कमााएको छ । सिद्धार्थ बैंकले १ अर्ब ३८ करोड ८८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा ३२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ ।कुमारी बैंकले १ अर्ब २६ करोड ४१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याउँदा १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो ।एनआईसी एशिया बैंकले कर्जा नोक्सानी व्यवस्थामा १ अर्ब १८ करोड ६५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले १ अर्ब १ करोड १० लाख र प्रभु बैंकले १ अर्ब ३८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् ।
यता ग्लोबल आईएमईको नाफा सबैभन्दा धेरै हुँदा एनआईसी एशियाको १२ करोड २२ लाख र प्रभु बैंकको ५५ करोड ८५ लाख रुपैयाँ नाफा छ ।बैंकर्स संघका अध्यक्ष कोइराला ऋणीले जेनजी मुभमेन्टपछि ब्याज तिर्न अनिच्छा देखाउँदा बैंकहरुको ब्याज बक्यौता र निष्क्रिय कर्जा नै बढेको बताउँछन् । यस्तै दशैं लगत्तैको वर्षातसँगैको बाढी र पहिरोको प्रभावले गर्दा ब्याज असुली हुन नसकेको कोइरालाको भनाइ छ । बाढी पहिरो र जेनजी आन्दोलनका साथै यही समयमा दशैं तिहार लगायतका चाडपर्व पनि परेकाले ब्याज तिर्ने वा असुल गर्ने समय पनि नभएको उनको बुझाई छ ।
बैंकरहरूले दुर्गा प्रसाईं लगायतका समूहले अझै आन्दोलन चर्काउने चेतावनी दिएकाले अनिश्चितता पनि बढेको कारण ऋणीले ऋण नतिरेको बताएका छन् । विभिन्न चार कारणले निष्क्रिय कर्जासँगै कर्जा नोक्सानी व्यवस्था पनि बढेकाले नाफामा गिरावट भएको र बक्यौता ब्याज पनि बढेको बैंकरहरूको दाबी छ । कतिपय ब्याज तिर्न सक्ने अवस्थाका व्यवसायीले पनि सहुलियत पाइन्छ भन्ने आशामा ब्याज नतिरेको बताइएको छ ।