काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्की आजदेखि औपचारिक रूपमा प्रहरी संगठनको कमाण्ड सम्हाल्दै छन्। ३२औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएपछि कार्की नेतृत्वमा आएका हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। उनलाई आज बिहान ११ बजे गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। दर्ज्यानी चिन्ह ग्रहण गरेपछि कार्कीले दिउँसो प्रहरी प्रधान कार्यालय, नक्सालमा पदभार ग्रहण गर्नेछन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार महानिरीक्षक कार्कीले अबको कार्यकाल २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।
अवकाशप्राप्त महानिरीक्षक खापुङले भदौ १९ गतेपछि ६९ दिन प्रहरी संगठनको नेतृत्व गरेका थिए। जेन–जी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग भएको आरोप खेप्दै उनी अवकाश भएका हुन्। खापुङले राजनीतिक नेतृत्वले गोली चलाउने आदेश नदिए पनि संसद भवन कब्जा गर्न प्रदर्शनकारी पुगेपछि गोली चलाउन बाध्य भएको बताउँदै आएका छन्। त्यस क्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीमाथि कारबाहीको तयारी भएपछि उनले संगठन र कर्मचारीको बचाउ गरेको कदमलाई कतिपयले प्रहरी संस्थाप्रतिको निष्ठाका रूपमा व्याख्या गरेका छन्।
यसैबीच, जेन–जी आन्दोलनपछि मुलुकमा शान्ति–सुरक्षा र स्थायित्व कायम राख्दै आगामी निर्वाचनमा सुरक्षालाई सुदृढ बनाउने चुनौती नवनियुक्त महानिरीक्षक कार्कीमाथि आएको छ। स्रोतका अनुसार, कार्कीले आफ्नो कार्यकालमा संगठनभित्र मनोबल उच्च राख्दै जनविश्वास पुनःस्थापनामा ध्यान केन्द्रित गर्ने तयारी गरेका छन्।
कार्कीले यसअघि काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुखका रूपमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए। सो प्रकरणमा उनले सरकारी वकिल कार्यालयसँग समन्वय गरी अभियोजन प्रतिवेदन तयार पार्न टोलीको नेतृत्वसमेत गरेका थिए।