नेकपा एमालेले आज राजधानीमा ठूलो जुलुस निकालेर ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ गठनको घोषणा गरेको छ। बबरमहल बस स्टपबाट सुरु भएको र्याली बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंकेटमा पुगेको थियो, जहाँ कार्यकर्तासँगै पार्टी नेताहरूले उपस्थित भएर फोर्स गठनको औपचारिक घोषणा गरेका छन्।
उक्त कार्यक्रममा एमालेका वरिष्ठ नेता महेश बस्नेत, रामकुमारी झाँक्री, राजीव पहरी, युवा संघका अध्यक्ष क्षितिज थेबेललगायतका नेताहरूले नेतृत्व गरेका थिए। नेता बस्नेतले जेनजी समूहसँग पार्टीको कुनै असहमति नरहेको स्पष्ट गर्दै भने, “जेनजीसँगका मागमा असहमति छैन। हामी उनीहरूसँग निरन्तर सम्पर्कमै छौं। तर उनीहरूको नाम र ब्यानर भजाएर केही अन्य खालका तत्वहरू सक्रिय भएको पाइएको छ।”
बस्नेतले संसद पुनर्स्थापना भएर नयाँ सर्वदलीय सरकार गठन भएपछि जेनजी समूहका माग पूरा गर्ने पार्टीको प्रतिबद्धता व्यक्त गरे। उनले स्पष्ट पारे, “हामी जनताको सुरक्षा, संविधानको सम्मान र लोकतान्त्रिक अभ्यासमा अडिग छौं। पार्टी र जनताको हितमा आवश्यक सबै कदम चालिनेछ।”
एमालेले आज पार्टीमा नीति तथा नेतृत्वको सुरक्षा सुनिश्चित गर्न ‘नेसनल भोलेन्टियर फोर्स’को घोषणा गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले उक्त फोर्सको औपचारिक उद्घाटन गर्दै कार्यकर्ता तथा समर्थकहरूसँग संवाद गरेका थिए। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार, फोर्स गठनको तयारी १५ दिनअघि कार्यदल मार्फत गरिएको थियो। कार्यदलको संयोजक पोलिटब्यूरो सदस्य महेश बस्नेत थिए।
कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उद्देश्य र भावी कार्यक्रमसहित फोर्स निर्माण गरेको छ। एमालेले फोर्सको मुख्य उद्देश्यको रूपमा राज्यका निकायलाई सहयोग गर्ने, जनतालाई भय र असुरक्षाबाट मुक्त राख्ने, सुरक्षा निकायसँग समन्वय गरेर काम गर्ने, साथै प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनमा राहत तथा उद्धारमा सहयोग पुर्याउने कुरा उल्लेख गरेको छ।
पार्टी स्रोतका अनुसार, ‘नेसनल भोलेन्टियर फोर्स’लाई राष्ट्रका विभिन्न भागमा परिचालन गरी सामाजिक सुरक्षामा योगदान पुर्याउने र एमाले कार्यकर्ता तथा नेता(सदस्यको सहभागितामा जनताको हित र सुरक्षा सुनिश्चित गर्ने योजना अघि बढाइनेछ।
आजको र्याली र फोर्स घोषणा कार्यक्रममा हजारौं समर्थकहरूले सहभागिता जनाएका थिए। प्रदर्शन र सभामा सहभागीहरूले नारा लगाउँदै पार्टीको नयाँ पहलमा समर्थन जनाएका थिए।