काठमाण्डौ – काठमाण्डौको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाण्डौको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल नदी बागमती नदी किनारमा रहेको २.५३ हेक्टर जग्गामा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।
टुकुचालाई यो प्रशोधन केन्द्रमा पठाएर पानी प्रशोधन गरी सफा पानीलाई बागमती नदीमा खसालिने छ । प्रशोधन केन्द्रको सहउत्पादनका रूपमा ८०० किलोवाट बिजुलीसमेत उत्पादन गरिनेछ ।
अहिले त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेको छ । स्थानीयवासीको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण भने शुरू हुन सकेको छैन । ललितपुरतर्फ बिजुली उत्पादन हुने संरचना मात्र रहनेछन् । मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरतर्फ निर्माणाधीन छन् । निर्माणको समग्र भौतिक र वित्तीय प्रगति २० प्रतिशत छ ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आज निर्माणधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिनुभएको छ ।
मन्त्री घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गर्नुभएको थियो ।
उहाँले अहिले निर्माणस्थलका सबै ठाउँबाट काम गर्न सक्ने अवस्था रहेकाले त्यही बमोजिम निर्माणका कार्य अगाडि बढाउन निर्देशन दिनुभयो । निर्माणस्थलमा रहेका रुख हटाउन झन्डै दुई वर्ष समय लाग्दा र ललितपुरतर्फ स्थानीयवासीको अवरोध रहँदा निर्माणमा केही ढिला भएको उल्लेख गर्दै मन्त्री घिसिङले अब निर्माणमा तीव्रता दिइनुपर्ने बताउनुभयो ।
उहाँले सरकारले बागमती नदीलाई सफा बनाउन यसका सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
एशियाली विकास बैंक (एडीबी) को बागमती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । केन्द्र निर्माणका लागि २०७९ जेठमा ठेक्का सम्झौता भएको थियो । म्याद थप गरिएको समयसहित केन्द्रको निर्माण सक्नुपर्ने अवधि २०८३ मङ्सिर रहेको छ ।