युथ सर्भ फाउण्डेशनको आयोजनामा मंगलवार राधेमाईस्थित एसआर ग्यालेक्सी एकेडेमीमा ट्राफिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी गरिएको कार्यक्रममा ट्राफिक नियम, सडक सुरक्षा, अनुशासित व्यवहार र युवाहरूको भूमिकाबारे विस्तृत प्रशिक्षण प्रदान गरियो।
फाउण्डेशनका सल्लाहकार तथा कार्यक्रम संयोजक दिपु बर्णवालका अनुसार विद्यार्थीहरूमा बाल्यकालदेखि नै ट्राफिक सचेतना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक युवराज कटुवालले विद्यार्थीलाई ट्राफिक नियम कडाइका साथ पालन गर्न आग्रह गरे। उनले सडक पार गर्दा अपनाउनुपर्ने सतर्कता, सवारी साधन चलाउँदा अनिवार्य रूपमा पालन गर्नुपर्ने नियम, हेल्मेटको आवश्यकता, जथाभावी गति तथा मोबाइल प्रयोगबाट हुने जोखिमलगायतका विषयमा मार्गदर्शन दिए।
उनले भने, “सडकमा अनुशासित भएर हिँड्नु नै सुरक्षा हो, एक क्षणको लापरवाहीले गम्भीर दुर्घटना निम्त्याउन सक्छ।”
युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल साह कानुले विद्यार्थीस्तरमै सचेतना कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै यस्तो पहलले भविष्यमा सुरक्षित सडक वातावरण निर्माणमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे।
एसआर ग्यालेक्सी एकेडेमीका प्रधानाध्यापक शर्मानन्द कुशवाहाले व्यवहारिक शिक्षाको महत्त्व उल्लेख गर्दै कार्यक्रममा सहभागी विद्यार्थीहरूमा सकारात्मक सोच र जिम्मेवारीबोध बढ्ने बताए। विद्यालयले ट्राफिक सचेतनामूलक अभियानमा साथ दिएकोमा आयोजकले प्रशंसा पनि व्यक्त गर्यो।
कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष राहुल ठाकुर, कोषाध्यक्ष अंकित चौरसिया, सचिव सोनालाल सहनीलगायत पदाधिकारी तथा विद्यालय प्रशासनको उपस्थिति थियो। विद्यार्थीहरूले ट्राफिक चिन्ह, सडक संकेत तथा सुरक्षामा आफ्नो भूमिकाबारे उत्साहपूर्वक सिकेका थिए।