वीरगंज रानीघाटस्थित जीवन ज्योति सेकेन्डरी स्कुलले बिहिबार ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे २०८२’ सम्पन्न गरेको छ। प्रमुख अतिथि मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष रेनु अग्रवालको विशेष उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा हजुरबुबा–हजुरआमाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मानवसेवा आश्रम बिरगञ्जका संस्थापक एवं समाजसेवी देवेश गुप्ता, बिरगञ्ज युवा समाजका अध्यक्ष सञ्जिव थापा, लायन्स क्लब बिरगञ्ज परिवारका अध्यक्ष नरोतम पाण्डे, विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ता तथा अन्य सम्मानित व्यक्तिहरू सहभागी भएका थिए।
एलकेजी, युकेजी र नर्सरी तहका बालबालिकाहरूले प्रस्तुत गरेको गीत, नाटक र नृत्यले अतिथिदेखि अभिभावकसम्म सबैलाई मुग्ध पारे। हजुरबुबा–हजुरआमाप्रति सम्मान, पारिवारिक सद्भाव र बाल–प्रतिभाको अभिव्यक्ति मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ।
कार्यक्रममा सहभागी हजुरबुबा–हजुरआमाहरूलाई विभिन्न रमाइलो खेलहरू खेलाइएका थिए भने खेल विजेताहरूलाई आकर्षक उपहार समेत प्रदान गरिएको थियो।
विद्यालयका सञ्चालक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चारकर्मी उज्ज्वल घिमिरेले सञ्चालन गरेका थिए। विद्यालयले शैक्षिक गतिविधिसँगै नियमित रूपमा सामाजिक, सांस्कृतिक तथा प्रेरणादायी कार्यक्रमहरू गर्दै आएको जानकारी दिएको छ।