वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेको बताउँदै यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिएकी छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् ।
भेटका क्रममा उनले मुलुकले अब अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न पनि प्रसाईँलाई अनुरोध गरिन ।
मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दाहरू अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन । ‘धेरै अप्ठ्यारा अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौँ,’ उनले भनिन्, ‘सबै खाले संशयहरूलाई चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको माहौलमा होमिएको छ । यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा गरेका छौँ । यो देश मेरो पनि हो भन्ने सोचका साथ सबै जिम्मेवार बनौँ ।’
भेटका क्रममा प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्तिको प्रतीकका रूपमा भगवान् गौतम बुद्धको चित्र उपहारस्वरूप प्रदान गरिन् । यसअघि प्रसाईँले प्रधानमन्त्रीलाई भगवती दुर्गाको मूर्ति उपहार दिएका थिए ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी पनि न्यायका पक्षधर हौँ । यहाँ सत्ता भोग र सुखसयलका लागि आएका होइनौँ । भ्रष्टाचारको अन्त्य गर्दै शोषित–पीडित वर्गलाई न्याय दिने प्रक्रियाको थालनी गरेका छौँ । सबै कुराको नतिजा रातारात देखिँदैन, तर हामीले आधारशिला तयार पार्दै गएका छौँ । तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको छ । अझै थप छलफल गर्दै जाऔँला ।’
भेटवार्ताले आगामी निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ । मुलुकमा आगामी फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।