काठमाडौं । नेपालका विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलले गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा १२ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको सबैभन्दा बढी आम्दानी गर्ने, कर्मचारी पाल्ने र विकास निर्माणमा समेत खर्च गर्न पुर्याउने काठमाडौं विमानस्थल हो । यो विमानस्थलले पछिल्लो एक वर्षमा करिब १३ अर्ब रुपैयाँ आम्दानी गर्दा सबैभन्दा कम आम्दानी गर्नेमा भने खोटाङको लामिडाँडा विमानस्थल रहेको छ ।
त्रिभुवन विमानस्थल यात्रु सेवाका हिसाबले पनि पहिलो नम्बरमा आउँछ । यो विमानस्थलबाट पछिल्लो एक वर्षमा आन्तरिकबाट ३७ लाख १८ हजार र अन्तर्राष्ट्रिय उडानबाट ४० लाख ९८ हजार यात्रुलाई सेवा दिएको छ ।
७८ लाख यात्रुलाई सन् २०२५ को जनावरीदेखि नोभेम्बरसम्मको ११ महिनामा सेवा दिएको यो विमानस्थलमा १ लाख १२ हजार ७९३ वटा उडान भएको थियो ।
लामिडाँडामा पछिल्लो एक वर्षमा एक पटक मात्रै हेलिकप्टर अवतरण भएको र त्यसबाट विमानस्थलले जम्मा ७२८ रुपैयाँ आम्दानी गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०८०र८१ मा पनि लामिडाँडा विमानस्थलले ४७४ रुपैयाँ मात्र कमाइ गरेको थियो ।
तथ्यांक अनुसार सबैभन्दा बढी कमाउने विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रियपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थलले पछिल्लो एक वर्षमा ३६ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ ।
पोखरा विमानस्थल काठमाडौं बाहिरका विमानस्थलमध्ये सबैभन्दा बढी आन्तरिक उडान हुनेमा पर्छ । यो विमानस्थलले पछिल्लो एक वर्षमा करिब ८ लाख यात्रुलाई सेवा दिएको छ ।
पोखरा विमानस्थलले सन् २०२५ को जनावरीदेखि नोभेम्बरसम्मको ११ महिनामा ७ लाख ९८ हजार यात्रुलाई सेवा दिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो अवधिमा पोखरामा २४ हजारवटा उडान भएको छ । यसमध्ये १२ हजार ४८ उडान र सोही नै संख्यामा अवतरण भएको पनि तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले २८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थल नेपालका उत्कृष्ट आम्दानी गर्ने तीन विमानस्थमा पर्छ । यो काठमाडौं र पोखरापछि धेरै यात्रु दिने विमानस्थलमा परेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यहाँबाट आन्तरिक उडान नै अघिक भएको छ ।
गौतमबुद्ध विमानस्थलले बार्षिक ६ लाख ७५ हजार यात्रुलाई आन्तरिक उडानको सेवा दिँदा अन्तर्राष्ट्रियतर्फ भने जम्मा १३ हजार मात्रै छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०२५ को जनावरीदेखि नोभेम्बरसम्ममा यो विमानस्थलबाट ६ लाख ८८ हजार यात्रुलाई सेवा दिएको छ । यही सेवाबाट विमानस्थलले करिब २९ करोड रुपैयाँ आम्दानी गर्ने क्षमता बनाउन सकेको देखिएको छ ।
हव एयरपोर्टका रुपमा परिचित विराटनगर र नेपालगन्जबाट भएको उडान अवतरण अन्य विमानस्थलको तुलनामा उल्लेख्य छ । विराटनगरले गत आर्थिक वर्ष २०८१र८२ मा १९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यसले एक वर्षमा दिएको यात्रु सेवा भने करिब साढे ६ लाख छ ।
नेपालन्जले पनि गत आर्थिक वर्षमा १४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गर्ने विमानस्थलले सन् २०२५ को ११ महिनामा करिब ५ लाख यात्रुलाई हवाई उडान सेवा दिएको छ ।
उड्डयन प्राधिकरणले देशभरका विमानस्थल लगायतबाट १४ अर्ब ६९ करोड ३ लाख ३१ हजार रुपैयाँ कमाएको छ ।
कुन विमानस्थलको आम्दानी कति ?