काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि क्रिकेट गतिविधिहरूले भरिएको विस्तृत वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेटिएको कार्यतालिका सार्वजनिक गरेको हो।
यस वर्ष क्यानले घरेलु संरचनालाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाली टोलीको प्रतिस्पर्धात्मक क्षमता बढाउने मुख्य लक्ष्य राखेको छ।
घरेलु प्रतियोगिता अन्तर्गत मार्च र अप्रिल महिनामा पुरुष राष्ट्रिय ए डिभिजन कप र राष्ट्रिय विद्यालय च्याम्पियनसिप आयोजना हुनेछन्। यी प्रतियोगिताहरू जिल्ला र प्रदेशस्तरबाटै सुरु गरिने क्यानले जनाएको छ। त्यस्तै, जय ट्रफी, वाई-वाई पुरुष राष्ट्रिय क्रिकेट, महिला ए डिभिजन कप र पहिलो पटक महिला लङ फर्म्याट (लामो दूरीको) प्रतियोगिता पनि वर्षभर सञ्चालन हुनेछन्।
युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यानले "क्यान युवा कप" सँगै लेभल १ र २ को कोचिङ, पिच क्युरेटर र अम्पायरिङ कोर्सहरू समेत सञ्चालन गर्ने योजना बनाएको छ। बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) लाई पनि २०२६ को क्यालेन्डरमा निरन्तरता दिइएको छ।
अन्तर्राष्ट्रियतर्फ पनि नेपाली टोलीको तालिका निकै व्यस्त देखिएको छ। नेपाली महिला टोलीले आईसीसी टी–२० विश्वकप छनोटमा भाग लिनेछ भने पुरुष र महिला दुवै टोलीले विभिन्न द्विपक्षीय शृङ्खला, आईसीसी विश्व क्रिकेट लिग, एसीसी कप र एसिया कप जस्ता महत्त्वपूर्ण प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्नेछन्।
युवा टोलीका लागि भुटान र मलेसिया भ्रमणको तय गरिएको छ। डिसेम्बरमा क्षेत्रीय घरेलु प्रतियोगिताहरू समापन गर्ने लक्ष्य राखेको क्यानले यस वर्ष विशेष गरी महिला र तल्लो तह (ग्रासरुट) को क्रिकेट विकासमा जोड दिने बताएको छ।