काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गर्दै उनको तस्बिर सार्वजनिक गरेका छन् । नेपाली समयअनुसार गएराति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत मादुरोको तस्बिर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको तस्बिरमा मादुरोले आँखामा मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएका देखिन्छन् । तस्बिरसँगै ट्रम्पले क्याप्सनमा ‘निकोलस मादुरो यूएसएस इवो जिमा ९युद्धपोत० मा’ लेखेका छन् । मादुरोकी पत्नीसमेत पक्राउ गरिएको दाबी गरिए पनि सार्वजनिक तस्बिरमा उनी भने देखिएकी छैनन् ।
घटनापछि फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले “शक्तिको सुरक्षित, सही र समझदारीपूर्ण परिवर्तन नभएसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाले चलाउनेछ” भन्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले उक्त अभियानमा अमेरिकी सेनाको प्रशंसा गर्दै भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तिएर छिट्टै पराजित भएको दाबी गरे । अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिकको ज्यान नगएको तथा हतियार वा उपकरणमा क्षति नपुगेको पनि उनले बताए ।
यसअघि शनिबार ट्रम्पले मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको घोषणा गरेका थिए । अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध नार्को–आतंकवाद, कोकिन आयात र हतियारसम्बन्धी गम्भीर अभियोगमा मुद्दा चलाइने जानकारी दिएकी छन् ।
यता भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी आक्रमणपछि राष्ट्रपति मादुरो दम्पतीको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण तत्काल सार्वजनिक गर्न अमेरिकासँग माग गरेकी छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मादुरोलाई अर्को हप्ता न्युयोर्कको म्यानहट्टनस्थित अदालतमा उपस्थित गराइने सम्भावना छ । अमेरिकाले शनिबार बिहान भेनेजुएलामा भीषण हवाई हमला गरेको र सोही क्रममा मादुरो दम्पतीलाई निवासबाटै नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।