४ माघ, वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति गरेको छ। महानगरपालिकाको राजस्व महाशाखाका अनुसार चालू आर्थिक वर्ष २०८२र८३ को साउनदेखि पुस मसान्तसम्मको अवधिमा गत वर्षको तुलनामा करिब ५ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो ।
महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०८१र८२ को सोही अवधिमा २६ करोड १ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यस वर्ष भने राजस्व सङ्कलनमा सुधार आउँदा पुस मसान्तसम्म कुल ३० करोड ९७ लाख रुपैयाँ महानगरको कोषमा जम्मा भएको छ ।
राजस्वको प्रमुख स्रोतमध्ये घरबहाल करबाट सबैभन्दा बढी २९ करोड ५७ लाख रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी, पूर्वाधार सेवा करबाट ३६ करोड ६८ लाख, सम्पत्ति करबाट ११ करोड ८ लाख, र अखेटोपहार करबाट ५ करोड १० लाख रुपैयाँ प्राप्त भएको छ । अन्य स्रोतहरूमा व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट १ करोड ३० लाख, नक्शापास दस्तुरबाट १ करोड, अन्य सेवा शुल्कबाट १ करोड ८६ लाख र सरकारी सम्पत्ति बहाल करबाट ६५ लाख रुपैयाँ सङ्कलन भएको छ ।
त्यस्तै, भूमिकररमालपोतबाट ५२ लाख, व्यक्तिगत घटना दर्ताबाट २९ लाख, प्रशासनिक शुल्कबाट २८ लाख, बहालबिटौरीबाट ३० लाख, बिक्रीबाट १२ लाख, मनोरञ्जन करबाट ९ लाख र नाता प्रमाणित दस्तुरबाट ८ लाख रुपैयाँ राजस्व उठेको छ । सवारीसाधन करबाट ५ लाख ७६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४ लाख र बेरुजूबाट १ लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको महाशाखाले जनाएको छ। महानगरले करको दायरा विस्तार र सङ्कलन प्रक्रियामा कडाइ गरेपछि राजस्वमा सकारात्मक वृद्धि देखिएको विश्लेषण गरिएको छ।