सशस्त्र प्रहरी बल, नेपालको स्थापना दिवसको अवसरमा सीमावर्ती क्षेत्रमा आयोजित फ्ल्याग मार्च बारा जिल्लाबाट पर्सा जिल्लासम्म भव्य रूपमा सम्पन्न भएको छ। देशको सीमा सुरक्षा, राष्ट्रिय एकता र सुरक्षाप्रति प्रतिबद्धता प्रवाह गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रमलाई ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको छ।

फ्ल्याग मार्चको नेतृत्व सशस्त्र प्रहरी बल नं। १३ गण का गणपति पुरण चन्द भट्ट ले गर्नुभएको थियो। सीमावर्ती मार्ग हुँदै सम्पन्न यस मार्चले सुरक्षा निकायहरूको सतर्कता, अनुशासन र समन्वय प्रत्यक्ष रूपमा देखाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्सा प्रमुख जिल्ला अधिकारी भोला ढकाल उपस्थित हुनुहुन्थ्यो। साथै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख सन्तोष ढकाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विभिन्न तहका पदाधिकारीहरू तथा भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

सीमावर्ती क्षेत्रमा सम्पन्न फ्ल्याग मार्चले नेपाल–भारत सीमा क्षेत्रमा आपसी विश्वास, सहकार्य र सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विश्वास दिलाएको छ। कार्यक्रमले आम नागरिकमा सुरक्षा अनुभूति बढाएको र सशस्त्र प्रहरी बलको भूमिका तथा जिम्मेवारीप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताए।
आयोजक पक्षका अनुसार, देशप्रेम, अनुशासन र राष्ट्रिय सुरक्षाप्रति अटल प्रतिबद्धताको प्रतीकका रूपमा सम्पन्न यो फ्ल्याग मार्च सशस्त्र प्रहरी बलको इतिहासमा स्मरणीय क्षणको रूपमा रहनेछ।