काठमाडौं । पर्वतारोहण तथा पदयात्रा (ट्रेकिङ) का लागि नेपाल आउने विदेशी पर्यटकलाई नक्कली बिरामी बनाएर ‘फेक रेस्क्यू’मार्फत करोडौँ डलर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीनवटा कम्पनीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै सीआईबीले नक्कली उद्धारसम्बन्धी कागजात तयार गरी अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट रकम असुल्ने गिरोहलाई सार्वजनिक गरेको हो।
सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु सर्भिस प्रालि का सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे रहेका छन्। त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालि का सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलियालाई पनि नियन्त्रणमा लिइएको छ।
यसैगरी, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालि का सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी पनि सोही प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
अनुसन्धानका क्रममा ती कम्पनीहरूले विदेशी पर्यटक सामान्य बिरामी हुँदा वा बिरामी नै नपर्दा पनि हेलिकप्टर चार्टर गरेको नक्कली बिल र कागजात तयार पारेर बीमा दाबी गर्ने गरेको खुल्न आएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार यी तीनवटै कम्पनीले मात्रै कुल १९.६९ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ९० करोड रुपैयाँ) बराबरको शंकास्पद बीमा दाबी गरेको पाइएको छ।
तथ्यांक अनुसार सबैभन्दा बढी माउन्टेन रेस्क्यु सर्भिस प्रालि ले १,२४८ जनामध्ये १७१ जनाको उद्धार शंकास्पद देखाउँदै १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर बीमा दाबी गरेको छ।
त्यसैगरी, नेपाल चार्टर सर्भिस प्रालि ले ४७१ जनाको उद्धारमध्ये ७५ जनाको फेक रेस्क्यू देखाई ८२ लाख ३४ हजार ८२ डलर दाबी गरेको छ भने एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालि ले ६०१ जनामध्ये ७१ जनाको शंकास्पद उद्धार देखाएर ११ लाख ५३ हजार ९१९ डलर बीमा दाबी गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।
सीआईबीले यस प्रकरणमा थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्ति तथा संस्थामाथि पनि कारबाहीको दायरा विस्तार गरिने जनाएको छ।