१५ माघ, काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी टेनिस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छन्।
अष्ट्रेलियन ओपन अन्तर्गत सञ्चालन भइरहेको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार समूह चरणको खेलमा दोस्रो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेकी हुन्।
ग्रुप ‘ए’ अन्तर्गत तेस्रो खेलमा शिभालीले घरेलु खेलाडी जसलिन केलाई सोझो सेटमा पराजित गरिन्। मेलवर्न पार्कको वेस्ट कोर्ट–१९ मा भएको खेलमा उनले जसलिनलाई ६–०, ६–१ ले सहज रूपमा हराएकी हुन्।
यसअघि समूहको पहिलो खेलमा शिभालीले चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २–१ को सेटले हराउँदै विजयी सुरुवात गरेकी थिइन्। दोस्रो खेलमा भने उनी भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भएकी थिइन्।
समूह ‘ए’ बाट नेपालकी शिभाली र भारतकी जेन्सी सेमिफाइनलमा प्रवेश गरेका छन्। शिभालीले सेमिफाइनलमा न्युजिल्याण्डकी मुसेम्मा सिलेकसँग प्रतिस्पर्धा गर्नेछिन्। उक्त खेल मेलवर्न पार्क–वेस्ट कोर्ट–१४ मा हुने तालिका छ। अर्को सेमिफाइनलमा भारतकी जेन्सी कनाबार र जापानकी आयोइ योसिदाबीच प्रतिस्पर्धा हुनेछ।
समूहबाट सिलेक र योसिदा पनि समान दुई–दुई खेल जित्दै सेमिफाइनल पुगेका हुन्।
ब्वाइजतर्फ दक्षिण कोरियाका सियुन किम, अष्ट्रेलियाका टोमी कामुस, अखमादी माखानोभ र थिएन अनह सेमिफाइनलमा प्रवेश गरेका छन्।
एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट खेलाडीमध्ये ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडी सहभागी थिए। दुवै विधाका खेलाडीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ।