काठमाडौँ – काठमाडौँ उपत्यकामा आज वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार मध्याह्नसम्म वायु प्रदूषण १७५ एक्युआई पुगेको छ। यसरी आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये सातौँ स्थानमा रहेको छ। विश्वकै सबैभन्दा प्रदूषित शहर इजिप्टको कायरो रहेको छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा हुनु, हावा नचल्नु, उद्योग–कलकारखाना सञ्चालन तथा तीव्र विकास निर्माणका कारण प्रदूषण बढेको हो। उनले औद्योगिक धुवाँ, सिमापार प्रदूषण र छिमेकी भारतबाट आउने प्रदूषणले पनि असर गरेको बताए।
विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीका अनुसार AQI ०–५० राम्रो, ५१–१०० सचेत रहनुपर्ने, १०१–१५० अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ र ३०० भन्दा माथि अत्यन्तै खतरनाक मानिन्छ। काठमाडौँको हालको १७५ एक्युआई सबैका लागि अस्वस्थ स्तरमा पर्छ।
नेपाल सरकारले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार AQI ३०० भन्दा बढी पुगेको अवस्था विपद् मान्ने व्यवस्था गरेको छ। कार्ययोजनामा फोहोर बाल्ने रोक, सडक सफाइका लागि ब्रुमर र भ्याकुमको प्रयोग, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था समावेश छ।
सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिएका छन् भने राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रमुख शहर र औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि प्रदूषणको नक्शाङ्कन गरिने रणनीति लागू गरिएको छ।