वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्गटाको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१८ इनरवा–भवानीपुर क्षेत्रमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार रुङ्गटाले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको समावेशी विकास, दिगो पूर्वाधार निर्माण र जनउत्तरदायी नेतृत्व आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्। उनले जनताका समस्या र आवश्यकतालाई केन्द्रमा राखेर व्यवहारिक तथा परिणाममुखी कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
घरदैलोका क्रममा देखिएको उल्लेखनीय जनसहभागिता, सक्रियता र जनविश्वासले पर्सा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसको जनाधार थप सुदृढ बन्दै गएको रुङ्गटाले दाबी गरे।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत नेपाल विद्यार्थी संघ र तरुण दलका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले कांग्रेसको एकता, संगठनात्मक मजबुती र निर्वाचनमा विजय सुनिश्चित गर्न पार्टीका सबै तह र पंक्तिलाई सक्रिय रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।