पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–२ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति देखिएको थियो।
घरदैलोका क्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागी स्थानीयवासीहरूले यसपटकको निर्वाचनले पर्सा–२ मा नयाँ आशा र सकारात्मक परिवर्तनको सम्भावना सिर्जना गरेको प्रतिक्रिया दिएका थिए। उनीहरूले विगतका समस्याबाट मुक्ति पाउन सक्षम र जवाफदेही नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन जनाएका थिए।
उम्मेदवार सुशील कुमार कानुले घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका आधारभूत समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, खेलकुद पूर्वाधारको विकास तथा कृषकहरूलाई समयमै मल र सिँचाइका लागि पर्याप्त पानी उपलब्ध गराउने विषयमा पहल गर्ने बताए।
त्यसैगरी उनले बेरोजगार युवालाई लक्षित गरी पशुपालनसम्बन्धी प्राविधिक सीपमूलक तालिम प्रदान गरिने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको जानकारी दिए। निर्वाचित भएमा यी समस्याहरूलाई चरणबद्ध रूपमा समाधान गर्दै समृद्ध र आत्मनिर्भर पर्सागढी निर्माणमा लाग्ने उनको प्रतिबद्धता थियो।
घरदैलो कार्यक्रममा रास्वपाका नेता शर्फु आलमका अनुसार फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।