नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटा ले पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज २ छपकैयामा घरदैलो अभियान तीव्र बनाएर स्थानीय जनता भेटघाट गरेका छन्। उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै जनजीवनका समस्या र सुझावहरू सुनेका छन ।
घरदैलोमा रुङटाले आगामी निर्वाचनमा पार्टीको ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गर्दै सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। मधेसी, मुस्लिम, महिला, अल्पसङ्ख्यक र सीमान्तकृत वर्गका अधिकार संरक्षणलाई आफ्नो राजनीतिक प्राथमिकता बनाउने स्पष्ट पारे।
उहाँले वीरगञ्ज–पथलैया क्षेत्रमा व्यवस्थित औद्योगिक करिडोर विकास गर्ने, नयाँ उद्योग भित्र्याउने, लगानीमैत्री वातावरण बनाउने र रोजगारीका अवसरहरू सिर्जना गर्ने योजना प्रस्तुत गरे। युवालाई विदेशिनु नपर्ने गरी स्वदेशमै सम्भावना विस्तार गर्नु उनको मुख्य लक्ष्य रहेको उल्लेख छ।
रुङटाले संगठनलाई अनुशासित, जुझारु र एकताबद्ध बनाउने आवश्यकता औँल्याउँदै घरदैलो अभियानलाई अझ प्रभावकारी बनाउने र प्रत्येक टोलमा प्रत्यक्ष संवाद बढाउने योजना बताए। विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारमा विशेष जोड दिँदै पर्सा–१ लाई समुन्नत क्षेत्रका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता उनले दोहोर्याए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकार, क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल का नेताहरू, स्थानीय कार्यकर्ता र समाजसेवीहरूको उपस्थिती उल्लेखनीय रह्यो।कार्यक्रम बुथ सभापति फिरोज आलमको अध्यक्षतामा सम्पन्न भएको थियो ।