पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वडा नम्बर १३ मा आज विभिन्न पार्टी परित्याग गरी २०० भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। पर्सा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटा को प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै उम्मेदवार रुङटाले अब जनतालाई झुक्याएर मत लिने दिन सकिएको भन्दै सचेत नागरिक बनेर आफ्नो मतको सही सदुपयोग गर्न आग्रह गरे। उनले विगतमा पटक–पटक सांसद र मन्त्री बनेका नेताहरूले पर्सामा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा अपेक्षित काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै यसपटक समृद्धि, सुशासन र विकासप्रेमी उम्मेदवारलाई रोज्न मतदातासँग अपिल गरे।

उनले पर्सा–१ बाट निर्वाचित भइसकेका नेताहरूले विभिन्न मञ्चमा झुटा आश्वासन दिने काम मात्र गरिरहेको आरोप लगाउँदै मतदातालाई त्यस्ता आश्वासनको पछि नलाग्न आग्रह गरे। “हामीसँग स्पष्ट योजना र नीति छ, अब झुटो आश्वासनबाट जनतालाई धेरै भुलाउन नहुने समय आएको छ,” रुङटाले भने।
कार्यक्रम वडा नम्बर १३ का बुथ सभापति कवीर अन्सारीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा क्षेत्रीय सभापति अरविन गुप्ता, उपसभापति रामनारायण कुर्मी, प्रदेश सदस्य मोहम्मद ताज अलि अन्सारी, महाधिवेशन प्रतिनिधि दिनेश पन्त, मिन्टु सिंह, मनोजा चौधरी थारु, जितेन्द्र पुरुष ढकाल, महिला नेतृ निर्मला देवी सिंह, प्रत्याशी रुस्तम शेख लगायतले आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण वडा नम्बर ११ का बुथ सभापति मनोज महतोले गरेका थिए।
नवप्रवेशी युवाहरू तथा महिलाहरूलाई पार्टीले सक्रिय भूमिका दिने प्रतिबद्धता जनाउँदै नेताहरूले आगामी निर्वाचनमा एकजुट भएर कांग्रेसलाई विजयी बनाउन आह्वान गरेका छन्।