काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको आर्थिक र व्यवस्थापकीय भार अब सबै स्थानीय सरकारले ब्यहोर्ने भएका छन्।
काठमाडौँ उपत्यका मेयर्स फोरमको १३औँ बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा व्यवस्थापकीय साझेदारीकोको लागि सबै उपत्यकाका सबै स्थानीय सरकारले मिलेर काम गर्ने निर्णय गरेको छ। बैठकको निर्णयअनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा एकल रुपमा भार बोक्दै आएको काठमाडौँ महानगरपालिकालाई उपत्यकाका बाँकी १७ वटै नगरपालिकाले वित्तीय र व्यवस्थापकीय साझेदारी गर्नेछन्।
अहिलेसम्म बञ्चरेडाँडा ल्यान्डफिल साइटमा भइरहेको फोहोर व्यवस्थापनको सम्पूर्ण खर्च काठमाडौँ महानगरले गर्दै आएको थियो। यो परिपाटी अन्त्य गर्दै बैठकले अब उत्पादन हुने फोहोरको मात्राका आधारमा सम्बन्धित स्थानीय सरकारले नै खर्च ब्यहोर्ने निर्णय गरेको हो।
काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले फोहोरमैला ‘ट्रान्स बाउन्ड्री’ (सीमा वारपार) समस्या भएको बताइन्। ‘फोहोरमैला व्यवस्थापनको लागि जसरी काठमाडौँ महानगरपालिकाले काम गरिरहेको छ, त्यो उपत्यकाभरीका नगरपालिकाको विषय हो। तसर्थ, यसमा सबै स्थानीय तहको वित्तीय र व्यवस्थापकीय साझेदारी हुनुपर्छ भन्ने निर्णय भएको छ,’ डंगोलले भनिन्, ‘यसका लागि छिट्टै एउटा स्पष्ट खाका तयार पारिनेछ।’
मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले फोहर व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरको मात्र विषय नभएकाले सबैले सहकार्य गर्ने निर्णय गरिएको बताए। ‘अहिलेसम्म बञ्चरेडाँडाको सम्पूर्ण वित्तीय र व्यवस्थापकीय काम काठमाडौँ महानगरले गर्दै आएको थियो। अब हामीले फोहोरको मात्रा बमोजिम अन्य पालिकाहरू पनि सहभागी भएर अगाडि बढ्ने निर्णय गरेका छौँ,’ महर्जनले भने।
बैठकले सङ्घीय सरकारले फोहोरमैला व्यवस्थापनका लागि गरेका अध्ययनमध्ये अघि बढाएको जुनसुकै विकल्पलाई मेयर्स फोरमले त्यसलाई अपनत्व लिई पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ।