वीरगञ्ज, पर्सा – बहुदरमाई नगरपालिकाको वडा नम्बर १ का निवासी तथा जनता समाजवादी पार्टी ९जसपा० का वडा कमिटी अध्यक्ष जटाशंकर यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
रंगपुरस्थित एमाले सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, पर्सा–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डे र नेता हरीबाबु चौधरीले खादा तथा टीका लगाएर यादवलाई पार्टीमा स्वागत गरेका थिए।
बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिगाशन साहको सक्रिय पहल र समन्वयमा सम्पन्न उक्त कार्यक्रमलाई एमालेले संगठन विस्तारको महत्वपूर्ण कडीका रूपमा लिएको जनाएको छ। स्थानीय तहमा प्रभावशाली छवि बनाएका यादवको आगमनले बहुदरमाई क्षेत्रमा एमालेको सांगठनिक पकड थप मजबुत हुने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।
पर्सा जिल्लाको बदलिँदो राजनीतिक परिदृश्यमा स्थानीय प्रभाव भएका नेताहरूको पार्टी परिवर्तनले निर्वाचन समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ। विशेषगरी पर्सा–३ मा युवा उम्मेदवार रूपेश कुमार पाण्डेले विकास, सुशासन र स्थायित्वको एजेण्डा अघि सार्दै जनसमर्थन बढाइरहेका बेला यादवजस्ता स्थानीय नेताको समर्थनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पार्टी प्रवेशपछि बोल्दै जटाशंकर यादवले एमालेको विकासमुखी दृष्टिकोण, राष्ट्रियता र समृद्धिको एजेण्डाबाट आफू प्रभावित भएको बताउँदै आगामी निर्वाचनमा रूपेश पाण्डेलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
एमाले वृत्तले यस प्रवेशलाई पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा बढ्दो जनलहरको संकेतका रूपमा व्याख्या गरेको छ। पछिल्लो समय विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम बढ्दै जाँदा पर्सा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
बहुदरमाई क्षेत्रमा संगठन विस्तारसँगै युवा नेतृत्वप्रति बढ्दो आकर्षणले रूपेश पाण्डेको उम्मेदवारीलाई थप मजबुत आधार प्रदान गरेको एमाले नेताहरूको दाबी छ। आगामी निर्वाचन नजिकिँदै जाँदा यस्ता राजनीतिक ध्रुवीकरणले पर्सा–३ को चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्ने आकलन गरिएको छ।