पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील कुमार साह कानुको पक्षमा जनलहर उत्रिन थालेको बताइएको छ। विभिन्न वडामा सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा उनले मतदातासँग भेटघाट गर्दै राय–सुझाव संकलन गरिरहेका छन्।
घरदैलो अभियानमा उम्मेदवार कानुले आफू निर्वाचित भए क्षेत्र नम्बर–२ का जनताको दीर्घकालीन समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले स्वास्थ्य, शिक्षा, रोजगारी र उद्यमशीलता विकासलाई मुख्य एजेन्डा बनाउँदै युवाहरूलाई स्वरोजगारतर्फ अग्रसर गराउने लक्ष्य रहेको उल्लेख गरे।
“पर्सा–२ बाट विगतमा मन्त्री र सांसद बने पनि जनताका समस्या ज्यूँका त्यूँ छन्,” उनले भने, “त्यसैले परिणाममुखी काम गर्न मैले उम्मेदवारी दिएको हुँ।” उनले मतदातालाई केवल आश्वासनमा सीमित नरहन आग्रह गर्दै अब विकासको ठोस परिणाम चाहिएको बताए।
घरदैलो अभियानमा स्थानीय नागरिकहरूको सहभागिता बढ्दै गएपछि विपक्षी दलहरूमा समेत हलचल मच्चिएको उनको दाबी छ। “म भाषण गर्न होइन, काम गर्न आएको हुँ,” उनले भने, “यसपटक संसदमा पुग्ने अवसर दिए शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा ठोस काम गर्ने अठोट लिन्छु।”
उम्मेदवार कानुले आगामी दिनमा पनि क्षेत्रका विभिन्न टोल–बस्तीमा घरदैलो अभियानलाई तीव्र बनाउँदै जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने बताएका छन्।