वीरगञ्ज। मास्कोट एकेडेमी प्लस टुको २६औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयकी प्रिन्सिपल सरिता खड्कीको सभापतित्व तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष सरोजप्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले दीप प्रज्वलन गरी विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापहरूमा समेत उत्कृष्ट स्थान हासिल गर्न सफल भएकोमा विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले विगतमा यस विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा सफल भएको उल्लेख गर्दै हाल प्लस टु म्यानेजमेन्ट संकाय सञ्चालनमा ल्याउनु विद्यालयका लागि थप उपलब्धि भएको बताउनुभयो। आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउँदै अघि बढ्न सुझाव पनि दिनुभयो।
यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत शाह कानुले विद्यालयले खेलकुद तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूलाई सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले मास्कोट एकेडेमीले उत्पादन गरेका विद्यार्थीहरू देश–विदेशमा सफल भइरहेकोमा शिक्षक–शिक्षिका, सञ्चालक तथा अभिभावकहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।
कार्यक्रममा विद्यालयका सञ्चालक मनिष कुशवाहा, विजय शाह, हिसानका अध्यक्ष मुकेश गुप्ता, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, ज्ञान ज्योति स्कुलकी सञ्चालक दीपा योन्जन, साथै सञ्जय गिरी, अन्जली देवान, कमल चौगाई, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वार्षिक उत्सव समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नृत्य, गीत तथा पुरस्कार वितरण कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।