पर्सा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने जगरनाथपुर क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटालाई स्थानीय बासिन्दाले उत्साहपूर्ण तथा भव्य स्वागत गरेका छन्। उहाँको आगमनसँगै क्षेत्रको चुनावी माहोल झनै तातिएको छ। गाउँ–टोलमा समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ भने राजनीतिक बहस तथा छलफलहरू पनि सक्रिय रूपमा अघि बढिरहेका छन्।
जगरनाथपुर वडा नं. २२ मा आयोजित कार्यक्रममा बुथ सभापति नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै जगरनाथपुर आसपासका विभिन्न टोलमा भेला, भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रमहरू विस्तार हुँदै जाँदा समग्र क्षेत्र नै चुनावमय बनेको देखिन्छ। 
घरदैलो अभियानका क्रममा पुगेका रुङटालाई स्थानीयले फूलमाला, अबिर तथा हार्दिक शुभकामनासहित स्वागत गर्दै खुलेर समर्थन जनाएका थिए। प्रचार–प्रसार केन्द्र उद्घाटनपछि उहाँले प्रत्येक टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुभएको छ। नागरिकका गुनासा, सुझाव र अपेक्षाहरूलाई ध्यानपूर्वक सुन्दै उहाँले क्षेत्रको समग्र विकासका स्पष्ट योजना प्रस्तुत गर्नुभएको थियो। 
कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता उल्लेखनीय देखिएको थियो। सयौं नागरिकको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले क्षेत्रीय विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। युवाहरूले सीप विकास, खेलकुद पूर्वाधार विस्तार तथा उद्यमशीलता प्रवर्द्धनलाई पनि मुख्य एजेन्डा बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
यसै क्रममा रुङटाले आफ्नो उम्मेदवारी केवल अनुहार फेर्ने माध्यम नभई कार्यशैली र नतिजा परिवर्तन गर्ने अवसर भएको उल्लेख गर्नुभयो। “निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो त कार्यशैली र नतिजा फेर्ने अवसर हो,” उहाँले भन्नुभयो। सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणालीलाई मुख्य प्राथमिकतामा राख्दै पर्सा क्षेत्र नं। १ को विकास तथा राष्ट्रिय नीति निर्माणमा युवा दृष्टिकोण समावेश गर्ने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ छ। 
पर्सा क्षेत्र नं. १ का मतदाताबाट अत्यधिक मतसहित विजयी हुने विश्वास व्यक्त गर्दै रुङटाले जनताको साथ, समर्थन र सुझावलाई सधैं उच्च सम्मानका साथ आत्मसात् गर्ने प्रतिबद्धता जनाउनुभयो। चुनावपछि पनि निरन्तर जनतामाझ रहेर विकास निर्माणका कामलाई गति दिने तथा क्षेत्रको समृद्धिका लागि पूर्ण रूपमा समर्पित रहने अठोट उहाँले व्यक्त गर्नुभयो।