नेकपा एमाले पर्साक्षेत्र नम्बर–१ काउम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नम्बर–३१ का विभिन्न टोल–बस्तीमा विस्तृत घरदैलो तथा जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्। बिहानदेखि सुरु भएको अभियान साँझसम्म जारी रहँदा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
घरदैलोका क्रममा यादवले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो प्रमुख प्राथमिकता बनाएको बताए। उनले पर्सा–१ लाई आधुनिक पूर्वाधार, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र उत्पादनमुखी कृषि प्रणालीमार्फत समृद्ध बनाउने योजना रहेको उल्लेख गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे। “स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नेछु, युवालाई विदेशिनु नपर्ने वातावरण बनाउने लक्ष्य छ,” उनले भने।
यादवले एमालेको चुनाव चिह्न ‘सूर्य’मा मतदान गरी स्थिर सरकार र विकासको निरन्तरता सुनिश्चित गर्न मतदातासँग आग्रह गरे। उनले विगतमा अधुरा रहेका सडक स्तरोन्नति, खानेपानी आयोजना, स्वास्थ्य चौकी विस्तार र विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने योजना सुनाए। साथै साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्दै कृषि उत्पादनको बजार व्यवस्थापन गर्ने, किसानलाई सहज ऋण र आधुनिक प्रविधि उपलब्ध गराउने कार्यक्रम ल्याइने बताए।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले खानेपानीको अभाव, बिग्रिएका सडक, स्वास्थ्य सेवाको पहुँच, बेरोजगारी र सरसफाइ व्यवस्थापन जस्ता समस्याबारे उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए। केही स्थानमा महिलाहरूले महिला स्वास्थ्य सेवा, छात्रवृत्ति र सुरक्षित सडक बत्तीको मागसमेत राखेका थिए। यादवले ती मागलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा समाधान गर्ने आश्वासन दिएका छन्।

घरदैलो टोलीमा वडा अध्यक्ष जितेन्द्र यादव,स्थानीय पार्टी नेता, युवा कार्यकर्ता, महिला संघका प्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।