वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङटाको घरदैलो अभियान वीरगञ्ज महानगरपालिका–१५ अन्तर्गत लक्ष्मणवामा प्रभावशाली बन्दै गएको छ।
रुङटा पछिल्ला दिनहरूमा लक्ष्मणवाका विभिन्न टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आएका छन्। स्थानीय नागरिकका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 
घरदैलो अभियानका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले लक्ष्मणवामा चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ। वडा नम्बर–१५ का विभिन्न टोलमा पुगेर रुङटाले समृद्ध वीरगञ्ज निर्माणका लागि साझा सहकार्य आवश्यक रहेको धारणा राखे। स्थानीयवासीहरूले दीगो विकास, सुशासन र पारदर्शिताका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रुङटाप्रति समर्थन जनाएका छन्। 
महिला सशक्तीकरणलाई विशेष प्राथमिकता दिँदै रुङटाले महिला उद्यमशीलता प्रवर्द्धनमार्फत आयआर्जनका कार्यक्रमसँग जोडिने योजना अघि सारिएको बताए। उनले सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यम प्रवर्द्धन तथा महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता जनाए। “महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने।
त्यसैगरी युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने उनले उल्लेख गरे। आगामी निर्वाचनमा मतदाताले विकास र स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।