नेकपा एमाले बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवले आफ्नो क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन्। वीरगञ्ज महानगरपालिका का विभिन्न वडामा पुगेका यादवले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना प्रस्तुत गर्दै मत मागेका हुन्।
घरदैलोका क्रममा धेरै मतदाताले एमाले र सूर्य चिन्हमा मतदान गरेर यादवलाई पुनः जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्। जगरनाथपुर क्षेत्रमा पुगेका यादवलाई स्थानीयले भव्य स्वागत गरेका थिए। सहभागीहरूले पर्सा–१ मा एमालेप्रतिको जनसमर्थन बढ्दै गएको बताएका छन्।
स्थानीय बासिन्दाले विगतमा यादवले गरेको विकास कार्य स्मरण गर्दै फेरि अवसर दिनुपर्ने धारणा राखेका छन्। दुईपटक सांसद र मन्त्री रहिसकेका यादवले विपतका बेला जनताको साथमा उभिएको, खानेपानी अभाव हुँदा डिप बोरिङ जडान, सडक निर्माण, कोरोना महामारीमा राहत वितरण र सामुदायिक भवन निर्माणमा योगदान दिएको भन्दै स्थानीयले उनको कामको प्रशंसा गरेका छन्। वीरगञ्ज–१३ का एक मतदाताले “जिल्लाको समग्र विकासमा इमानदार र कर्मठ नेतृत्व आवश्यक भएकाले यादवलाई फेरि जिताउने तयारीमा छौँ,” भने।
यादवले घरदैलोका क्रममा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका क्षेत्रमा स्पष्ट योजना अघि सारेका छन्। एमाले नेतृत्वमा देशभर पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य क्षेत्रको सुधार र राष्ट्रिय हितको संरक्षण भएको उल्लेख गर्दै उनले पर्सालाई पनि विकासको केन्द्र बनाउने प्रतिबद्धता जनाए।उनले देशले भोगिरहेको अस्थिरता र विकास अवरोध अन्त्य गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै “अब नारा होइन, परिणाम चाहिन्छ,” भन्ने सन्देश दिएका छन्।
स्थानीय उत्साह, विगतका उपलब्धि र एमालेको विकासमुखी नीति कारण पर्सा–१ मा यादवको जित सम्भावित रहेको समर्थकहरूको विश्वास छ।