काठमाण्डौ — निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गएको माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा अस्ति बिहीबारसम्म टेलिफोन र ‘भ्वाइस मेल’समेत गरी जम्मा चार हजार ३८ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भई सम्बोधन गरेको छ ।
प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ९ सय ५८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३ सय ८६, मतदाता शिक्षासम्बन्धी १ सय ५७ र अन्य एक हजार १ सय ११ रहेका आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कुल जिज्ञासामा ४ सय २६ ‘भ्वाइस मेल’ रहेका छन् ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम अनुसार यही फागुन ३ देखि भोलि १७ गतेसम्म देशभरका सबै वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम चलिरहेको आयोगले जनाएको छ । यसरी खटिएका मतदाता शिक्षा स्वयंसेवकबाट आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने कार्य भइरहेको छ ।
विद्युतीय माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत स्थापना गरिएको मतदाता शिक्षा एकाइले अहिलेसम्म ४ सय ७० वटा सामग्री उत्पादन गरेर स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ ।
मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सचेतना सामग्रीले चुनावको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।
यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रबद्धन गर्नुका साथै आममतदाताले आधिकारिक सूचना पाउने अपेक्षा आयोगले गरेको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । यस्तै आयोगले मतपत्र तथा आवश्यक निर्वाचन सामग्री सातै प्रदेशका सबै जिल्लामा पुर्याइसकिएको जनाएको छ ।
चुनावमा एक लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम भएका छन् । अस्थायी मतदाताले मतदान गर्नेगरी देशभर जम्मा १ सय ४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।