काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन सवारी आवागमनलाई व्यवस्थित र सेवामैत्री बनाउन यस्तो निर्णय गरेको जनाएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार, अत्यावश्यक सेवाका सवारी साधनहरूले मतदानको दिन सवारी अनुमति पत्र (पास) लिनु पर्दैन ।
पास नचाहिने सवारी साधनहरू
अत्यावश्यक सेवा : दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीको ट्याङ्कर, दूरसञ्चार, विद्युत् र ढल मर्मतका गाडीहरू।
निक उपभोग्य वस्तु : दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन।
स्वास्थ्य सेवा :अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आउन-जान प्रयोग हुने सवारी साधन।
हवाई यात्रु : अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका गाडी( विमानस्थलसम्म वा घररहोटलसम्म जान)।
अशक्त तथा बिरामी : हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा हिँडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजको एक जना सहयोगी बोकेका सवारी साधन।
कूटनीतिक र अन्य : नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका गाडी, आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक र प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधन।
यस बाहेकका अन्य सवारी साधन सञ्चालनका लागि भने पास अनिवार्य गरिएको छ। आयोगले पास वितरणलाई सहज बनाउन निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि रहने गरी आयोग परिसरमै ‘एकीकृत सवारीसाधन आवागमन डेस्क’ स्थापना गरेको छ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुनुपर्ने पासहरू सोही डेस्कबाट जारी भइरहेको आयोगले जनाएको छ।