वीरगञ्ज । सामाजिक संस्था जिल्ला समन्वय समितिको ३१औँ वार्षिक साधारणसभा आफ्नै सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–१४ राधेमाईस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनारले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै सोनारले संस्थाले शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले समाजका पछाडि परेका वर्गलाई अगाडि ल्याउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै यस्ता कार्य स्थानीय सरकारले गर्नुपर्ने भए पनि सामाजिक संस्थाले जिम्मेवारी वहन गर्नुपरेकोप्रति दुःख व्यक्त गर्नुभयो। आगामी दिनमा स्थानीय तहले यस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
सोनारका अनुसार संस्थाले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका व्यक्तिहरूको पहिचान गरी मानव अधिकार, अपाङ्गता, एचआइभी, बालअधिकार तथा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै विभिन्न सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री वितरणलगायतका सामाजिक कार्यहरू गर्दै आएकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभयो।
संस्थाले हाल मधेस प्रदेशका आठवटै जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, महिला सशक्तीकरण, सुशासन, गरिबी निवारण, बालविवाह तथा दाइजो प्रथा नियन्त्रण, अपाङ्गता तथा एचआइभी जस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपसंयोजक पुरन, जगन्नाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त यादव, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, Nepal Redcross Society पर्साका सभापति ब्रिजकिशोर पटेल, नेपाल सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुल महम्मद मियाँ, संस्थाका सल्लाहकार राजेश पण्डित, रामनरेश यादव, पूर्व उपाध्यक्ष तथा दिव्य विकास स्रोत केन्द्रका प्रबन्धक रामकान पटेल, पूर्व महासचिव रामप्रवेश शाह, पूर्व नगर प्रमुख लोकनारायण यादव तथा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष युवराज खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्देश कुमार चौहानले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव अनन्त श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष विनोद प्रसाद यादवले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा संस्थाले उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थी तथा किशोरी शिक्षा कार्यक्रमअन्तर्गत सर्लाहीकी सुपरभाइजर प्रियंका यादव र मञ्जु कुमारी यादवलाई सम्मानसमेत गरेको थियो।
कार्यक्रमको सञ्चालन हरिप्रसाद यादवले गर्नुभएको थियो भने सहजीकरणमा संस्थाका दुलार्चन प्रसाद शाहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।