वीरगंज – सनसाइन बोर्डिङ स्कुलको वार्षिक खेलकुद कार्यक्रम आज वीरगंजमा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुमारी निधि सभापति रहेको अवस्थामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याप्सन) जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा सरोजप्रसाद चौधरीले विद्यालयले छोटो समयमा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा उल्लेखनीय योगदान गरेकोमा खुशी व्यक्त गर्दै शिक्षक, अभिभावक र विद्यालय परिवारलाई बधाई तथा शुभकामना दिएका थिए। त्यस्तै, राहुल श्रीवास्तवले विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांगीतिक, नृत्य र नाटक गतिविधिहरूले विद्यालयको भविष्य उज्ज्वल हुने सम्भावना देखाएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यार्थीहरूले मार्मिक गीत, संगीत र नृत्य प्रदर्शन गरेका थिए भने प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा प्याप्सनका मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, वरिष्ठ सल्लाहकार आलोक चौरसिया, महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा, कोषाध्यक्ष सुरज बाबु पटेल लगायतले शुभकामना व्यक्त गरेका थिए।
विद्यालयका सञ्चालक अमित आलोकले स्वागत मन्तव्य प्रस्तुत गर्दै, गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई अब्बल बनाउन विद्यालयले निरन्तर प्रयास गर्ने बताए। कार्यक्रमको सहजीकरण विद्यालयका कोर्डिनेटर दीपक कुशवाले गरेका थिए।