वीरगंज – वीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित बिपिएस +2 कलेजको वार्षिक खेलकुद कार्यक्रम आज एक समारोहबीच भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले विभिन्न खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गरेका विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको थियो।
कलेजका सञ्चालक दीपक पटेलको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि कार्कीले विजेता विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरूले अनुशासन र खेलकुदलाई मर्यादित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए।
उनले विद्यार्थीहरूले कानुनविपरीत गतिविधिमा संलग्न भए भविष्यमा समस्या पर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे। विदेश भ्रमण, अध्ययन वा वैदेशिक रोजगारीका लागि जाँदा प्रहरीबाट चालचलन प्रमाणपत्र आवश्यक पर्ने भएकाले गलत गतिविधिमा संलग्न भए त्यसको रेकर्ड प्रहरीको डाटाबेसमा रहने र भविष्यमा सरकारी जागिर वा विदेश जाने अवसरमा समस्या आउन सक्ने उनले बताए।
प्रहरी नायब उपरीक्षक कार्कीले विद्यार्थीहरूलाई अहिलेबाटै सचेत रहँदै आफ्नो भविष्य निर्माण गर्न, कलेजको प्रतिष्ठा कायम राख्न र अभिभावकको अपेक्षा पूरा गर्न सकारात्मक गतिविधिमा लाग्न सुझाव दिए।
कार्यक्रममा कलेजका सञ्चालक सन्दीप कुशवाहा, प्रिन्सिपल प्रभात मेहता, शिक्षकहरू दिपेन्द्र कानु, शुभम तुलसीहान, राजेश्वर पटेल, सुदिक्षा सुवेदी, अविरल पटेल, आकाश पटेल, विशेष दुबेदी, अनिस महतो, रेश्मा पटेल तथा खेलकुद प्रशिक्षक रवि यादव लगायतको उपस्थिति रहेको थियो।