बीरगञ्ज — बीरगञ्ज महानगरपालिका–११ स्थित चिल्ड्रेन वर्ल्ड बोर्डिङ्ग स्कुलको वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। समारोहको उद्घाटन बीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
उद्घाटन मन्तव्य राख्दै लामिछानेले निजी विद्यालयहरूले शिक्षामा दीर्घकालीन सुधार ल्याउन भूमिका खेले पनि नर्सरीमा भर्ना हुने र एसईई दिने विद्यार्थी सङ्ख्याबीच ठूलो अन्तर देखिनु चिन्ताजनक रहेको बताए। उनले बीचमै विद्यालय छोड्ने (ड्रपआउट) विद्यार्थीहरूको कारण पहिचान गर्न सबै सरोकारवालाहरू लाग्नुपर्नेमा जोड दिए।
मधेस प्रदेशको शैक्षिक सूचकाङ्कमा पर्सा जिल्ला अगाडि रहेको उल्लेख गर्दै उनले अभिभावक, निजी विद्यालय सञ्चालक तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई विद्यार्थीले बीचमै पढाइ किन छोड्छन् भन्ने विषयमा गम्भीर अनुसन्धान गर्न आग्रह गरे। साथै अभिभावकहरूले समयमा शुल्क तिर्दा विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर सुधार हुने पनि उनले बताए।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले विद्यालयले पछिल्लो समय उल्लेखनीय सुधार गरेको भन्दै प्रशंसा गरे। उनले आगामी दिनमा पनि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अझ सशक्त भूमिका निर्वाह गर्न सुझाव दिए।
त्यसैगरी प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ सल्लाहकार आलोक चौरसिया, महानगर सचिव अमित आलोक तथा वरिष्ठ उपाध्यक्ष सुशिला शाह लगायतले विद्यार्थीहरूको प्रतिभा विकासमा विद्यालयले खेलेको भूमिकाको सराहना गर्दै शुभकामना व्यक्त गरे।
विद्यालयका प्रिन्सिपल सुमन दास र डाइरेक्टर सिम्रन दासको नेतृत्वमा विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक तथा अतिरिक्त गतिविधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको वक्ताहरूले बताएका थिए।
प्रिन्सिपल सुमन दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याप्सनका विभिन्न पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उत्सवमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। साथै वर्षभरि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको डाइरेक्टर सिम्रन दासले जानकारी दिइन्।
कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र नेपालीले गरेका थिए।