मोरङमा क्षयरोगको जोखिम तीव्र गतिमा बढिररहेको छ । क्षयरोगका संक्रमित र यसका कारण हुने मृत्युदरमा लगातार वृद्धि भइरहेको स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा १,२७७ जना क्षयरोगी फेला परेका थिए भने २०८१–०८२ मा संख्या बढेर १,३४० पुगेको थियो । चालु आर्थिक वर्ष २०८२–०८३ को फागुन मसान्तसम्म ८३० जना नयाँ संक्रमित फेला परिसकेका छन् । संक्रमित थपिने क्रम जारी छ ।
मृत्युदर पनि बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०–०८१ मा ३० र २०८१–०८२ मा ४० जनको मृत्यु भएको थियो । चालु वर्षको फागुनसम्ममा मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ ।
स्वास्थ्य कार्यालय मोरङका क्षय–कुष्ठरोग अधिकृत मुलुकचन्द राजवंशीका अनुसार जिल्लाका १७ वटै पालिकामा १२३ वटा डट सेन्टरमार्फत परीक्षण र उपचार भइरहेको छ । २० स्थानमा खकार जाँच केन्द्र सञ्चालनमा रहेका छन् भने जेन एक्सपर्ट परीक्षण सेवा विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्था, मंगलबारे अस्पताल, नोबेल अस्पताल र कोशी प्रादेशिक प्रयोगशालामा उपलब्ध रहेको उनले बताए ।
राजवंशीले भने, ‘उपचारमा सुधार आए पनि बिरामीले औषधि बीचमै छाड्ने प्रवृत्ति बढ्दै गएको छ । विशेष गरी भारतसँग सीमा जोडिएका दक्षिणी गाउँहरूमा यो समस्या देखिएको छ, जसले रोग नियन्त्रणमा चुनौती थपेको छ ।’
यसैबीच, विराटनगर महानगरपालिका, पथरीशनिश्चरे नगरपालिका र केराबारी गाउँपालिकालाई ‘क्षयरोग मुक्त पालिका’ घोषणा गर्ने तयारी भइरहेको छ । सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी र रंगेलीमा नगरपालिकामा क्षयरोगीको संख्या बढी रहेको तथ्यांकले देखाएको छ ।
विश्व क्षयरोग नियन्त्रण दिवसको अवसरमा मंगलबार ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं स् राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ प्रभातफेरी, निःशुल्क स्वास्थ्य परीक्षण र पोषणयुक्त खाद्यान्न वितरण कार्यक्रम गरिएको छ । राजवंशीले मोरङमा क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई तीव्र बनाइएको जानकारी दिए ।