लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार शर्मामाथि एक नाबालिकालाई घरमा राखेर बालश्रम गराएको तथा दुर्व्यवहार गरेको आरोप लागेको छ। यसअघि उक्त प्रकरणमा मुद्दा नचलाउने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा फाइल तयार भई उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो।
घटनाबारे जानकारी पाएपछि काठमाडौं महानगरपालिकाको टोली, नगरप्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरी घटनास्थलमा पुगेर नाबालिकाको उद्धार गरेका थिए। उद्धारपछि बालिकालाई संरक्षण गृहमा राखिएको छ।
प्रारम्भिक विवरण अनुसार ती नाबालिका करिब ६ वर्षदेखि सांसद शर्माको घरमा काम गर्दै आएकी थिइन्। उनले आफूलाई घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गराइने र बेला–बेलामा कुटपिटसमेत हुने गरेको बताएकी छन्। साथै, उनले लामो समयदेखि परिवारसँग भेट्न नपाएको गुनासोसमेत गरेकी थिइन्।
यो घटना काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिकाको अवस्थाबारे गरिएको सर्वेक्षणका क्रममा सार्वजनिक भएको हो। सर्वेक्षणका क्रममा बालिकाले आफूमाथि भएको श्रमशोषण र दुर्व्यवहारबारे खुलाएकी थिइन्।
घटनापछि महानगरपालिकाले शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो। त्यसैका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरेको जनाएको छ।
यसैबीच, बालिकाका बाबुले छोरीको उद्धारपछि काठमाडौं आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनसमेत दर्ता गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।