वीरगञ्ज– नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले आज आफ्नो ७१औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदैछ। स्थापना दिवसको अवसरमा काठमाडौं उपत्यकासहित देशभर विविध कार्यक्रम आयोजना गरिएका छन्।
यस अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्माले शुभकामना सन्देश जारी गर्दै जिम्मेवार पत्रकारिताको दायित्व स्मरण गराएकी छन्। उनले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारलाई अपिल गरेकी छन्।
सात दशकभन्दा लामो इतिहास बोकेको महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरूको हितमा निरन्तर काम गर्दै आएको अध्यक्ष शर्माले उल्लेख गरेकी छन्। “व्यावसायिक र जवाफदेही पत्रकारितामार्फत सुदृढ लोकतन्त्र र विधिको शासन स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ,” सन्देशमा भनिएको छ।
उनले लोकतन्त्र र पत्रकारिता अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै आवश्यक पर्दा सार्वजनिक सरोकारका विषयमा अभिमत व्यक्त गर्नुपर्ने अवस्था आउने बताइन्। साथै, संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप वा नियन्त्रणको प्रयास भए त्यसको प्रतिवाद गर्नु महासंघको कर्तव्य रहेको उनको भनाइ छ।
अध्यक्ष शर्माले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनाहरू बढ्दो क्रममा रहेको भन्दै पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाका लागि महासंघ सधैं प्रतिबद्ध रहने स्पष्ट पारेकी छन्।
भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बलियो सरकार गठन भएको सन्दर्भमा राजनीतिक स्थिरताको अपेक्षा गरिएको उल्लेख गर्दै उनले लामो समयदेखि रोकिएका सञ्चारसम्बन्धी कानुन सरोकारवाला पक्षसँग छलफल गरी ल्याउन सरकारसँग आग्रह गरेकी छन्।
त्यसैगरी, आन्दोलन र दुर्घटनामा परेका सञ्चारगृह तथा पत्रकारलाई क्षतिपूर्ति उपलब्ध गराई मनोबल उच्च राख्नुपर्ने आवश्यकता औंल्याइएको छ।
सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचनाको चुनौती बढ्दै गएको भन्दै उनले जिम्मेवार पत्रकारितामार्फत त्यसको सामना गर्नुपर्ने बताएकी छन्।
महासंघले पत्रकारहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने पहल अघि बढाएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्य थप सुदृढ बनाउने दिशामा काम गरिरहेको पनि जानकारी दिइएको छ।