कम्बोडिया बाट थप १२ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। विभिन्न प्रलोभनमा परी त्यहाँ पुगेका उनीहरू अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको अवस्थामा भेटिएका थिए।
नेपाली राजदुतावास बैंकक को पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरू चैत १६ गते कम्बोडियाबाट उडी चैत १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
राजदूतावासका अनुसार उद्धार गरिएका नागरिकहरू अनलाइन ठगीलगायतका गतिविधिमा जबर्जस्ती लगाइएका थिए भने केही बिना भिसा बसिरहेको अवस्थामा भेटिएका थिए। स्क्यामिङ केन्द्रहरूमा काम गराइएका धेरै नेपालीहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराएको बहाना बनाउने गरेको गुनासोसमेत आएको छ।
अहिले पनि अलपत्र परेका तथा समस्यामा रहेका अन्य नेपालीहरूलाई स्वदेश फर्काउने पहल जारी रहेको जनाइएको छ। यस्तो अवस्थामा रहेका नेपाली नागरिकहरूलाई राजदूतावास वा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
उता कम्बोडियामा नेपालीहरूको आगमन पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको देखिन्छ। उपलब्ध तथ्यांकअनुसार सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १९७७, सन् २०२३ मा २९४०, सन् २०२४ मा ६४०४ र सन् २०२५ मा ९६७ जना नेपाली त्यहाँ पुगेका छन्।
मानव बेचबिखन र अनलाइन ठगीजस्ता जोखिमपूर्ण गतिविधिमा नेपाली नागरिक फस्ने क्रम बढ्दै गएपछि सम्बन्धित निकायहरूले सचेतना र निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।