२१ चैत, काठमाडौँ । काठमाडौँ उपत्यकाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले चलाएको विशेष ‘सर्च अपरेसन’का क्रममा १९५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले गएराति राजधानीका विभिन्न संवेनदशील क्षेत्रहरूमा छापा मारी गुण्डागर्दी, ठगी र बिचौलिया कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, र बुढानीलकण्ठ लगायतका क्षेत्रलाई केन्द्रित गरी यो अपरेसन चलाइएको थियो ।
विशेषगरी विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका यात्रुहरूलाई तानातान गर्ने, ठमेल क्षेत्रमा पर्यटकलाई दुःख दिने र सहरका विभिन्न स्थानमा गुण्डागर्दी तथा बिचौलियाको काम गर्नेहरू प्रहरीको निशानामा परेका हुन् ।
“विमानस्थल र ठमेल जस्ता पर्यटकीय क्षेत्रमा मान्छे तातातान गर्ने, सर्वसाधारणलाई सास्ती दिने र पहिलेदेखि नै गुण्डागर्दीमा संलग्न रहेका १९५ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ,” एसएसपी थापाले भने । उनका अनुसार सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि गर्ने र सुरक्षा चुनौती बढाउनेहरूलाई निरुत्साहित गर्न रातभर प्रहरी टोली परिचालन गरिएको थियो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरूको विगतको आपराधिक रेकर्डसमेत भिडाइने प्रहरीले जनाएको छ । राजधानीको रात्रीकालीन सुरक्षा र सर्वसाधारणको आवागमनलाई सहज बनाउन यस्ता अपरेसनलाई निरन्तरता दिइने परिसरले स्पष्ट पारेको छ ।